काठमाडौँ– दैनिक उपभोग्य वस्तुको अभाव, कमजोर शान्ति सुरक्षा र सरकारको कार्यशैलीलाई लिएर राष्ट्रिय सभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले बजारमा खाना पकाउने ग्यासको चरम अभाव हुँदा पनि सरकारले आपूर्ति सहज रहेको दाबी गर्नु जनताको समस्याप्रति संवेदनहीनता भएको आरोप लगाए ।
सांसद कमला पन्तले बजारमा ग्यासको हाहाकार हुँदा पनि आपूर्ति सहज रहेको बताइनु लज्जास्पद भएको बताइन् । ग्यास अभावका कारण नागरिकको घरमा चुलो बल्न छाडेको भन्दै उनले समस्या समाधानका लागि सरकारको स्पष्ट जवाफ र संसदबाट रुलिङको माग गरिन् ।
सांसद मदनकुमारी शाहले ‘डेलिभरी’को नारा दिने सरकारले नागरिकलाई ग्यासका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था सिर्जना गरेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन् ।
यसैगरी, सांसद तुलप्रसाद विश्वकर्मा र नरबहादुर विष्टले माइतीघर मण्डलामा ११६ दिनदेखि धर्नामा रहेकी दिपा नेपालीको मागप्रति सरकार उदासीन बनेको आरोप लगाए । जनताले ग्यासका लागि सास्ती भोगिरहेका बेला सरकारले जनसरोकारका समस्यालाई प्राथमिकतामा नराखेको उनीहरूको भनाइ थियो ।
बैठकमा शान्ति सुरक्षाको अवस्थामाथि पनि सांसदहरूले प्रश्न उठाए । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा संयन्त्र समयमै परिचालन हुन नसकेको भन्दै सांसद नारायणदत्त मिश्रले निष्पक्ष न्यायिक छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे ।
सिराहाको गोलबजारमा भएको आगजनी र भौतिक क्षतिका विषयमा सांसद मोहम्मद खालिदले पीडितलाई क्षतिपूर्ति र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सरकारसँग आग्रह गरे ।
सांसद भूवनबहादुर सुनारले सरकारको सय बुँदे कार्ययोजनामाथि प्रश्न उठाउँदै सुकुम्वासी बस्तीमा डोजर आतंक, रासायनिक मलको अभाव र बढ्दो महँगी नियन्त्रणमा सरकार असफल भएको दाबी गरे । सांसद युवराज शर्माले राष्ट्रिय ट्रमा सेन्टरका महँगा स्वास्थ्य उपकरण बिग्रिएको, विद्युतमा भ्याट लगाइएको तथा कृत्रिम अभाव सिर्जना भएको विषय उठाउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
शून्य समयमा बोल्ने सांसदहरूले ग्यास अभावदेखि शान्ति सुरक्षा, महँगी, स्वास्थ्य सेवा र नागरिकका मागसम्मका विषयमा सरकार गम्भीर र जबाफदेही बन्नुपर्नेमा जोड दिएका छन् ।