काठमाडौँ– नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षका लागि सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्चमा उल्लेख्य वृद्धि गर्नुपर्नेमा जोड दिएको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सडक, पुल, ऊर्जा, यातायात तथा सहरी पूर्वाधारमा सरकारी लगानी बढाउँदा अर्थतन्त्रका अन्य क्षेत्रसमेत चलायमान हुने बताएका छन्।
मंगलवारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष पाण्डेले अर्थतन्त्रलाई गति दिन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई पनि सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
उनका अनुसार अटोमोबाइल क्षेत्र राजस्वमा योगदान गर्ने क्षेत्र मात्र नभई निर्माण, पूर्वाधार, ऊर्जा, वित्तीय सेवा, बीमा, पर्यटन तथा यातायातसँग प्रत्यक्ष रूपमा जोडिएको छ। त्यसैले यस क्षेत्रमा हुने विस्तारले अर्थतन्त्रका विभिन्न क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।
पछिल्ला केही वर्षदेखि अर्थतन्त्र अपेक्षाअनुसार विस्तार हुन नसक्दा निजी क्षेत्र, सरकारी राजस्व, रोजगारी, उत्पादन तथा व्यापारमा मन्दीको असर परेको उल्लेख गर्दै पाण्डेले पछिल्लो समय देखिएका सकारात्मक गतिविधिलाई स्वागतयोग्य बताए।
उनले युवा जनशक्तिको विदेश पलायन रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा पनि जोड दिए। उद्योग, पूर्वाधार, सूचना प्रविधि, हरित ऊर्जा, पर्यटन, कृषि प्रशोधन तथा मोबिलिटी क्षेत्रमा लगानी विस्तार गर्न सके ठूलो संख्यामा गुणस्तरीय रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ।
पाण्डेले निजी क्षेत्रको विस्तार र औद्योगिकीकरणका लागि स्थिर सरकार, नीतिगत स्थिरता, कानुनी सुधार तथा लगानीमैत्री वातावरण आवश्यक रहेको बताए।
अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रवर्द्धनका लागि आयोजना हुने एक्स्पोहरू व्यापार प्रवर्द्धनमा मात्र सीमित नरहने उनको धारणा छ। यस्ता प्रदर्शनीले उपभोक्तालाई नयाँ प्रविधिबारे जानकारी दिनुका साथै विद्युतीय तथा हरित मोबिलिटीलाई प्रोत्साहन गर्ने र बजारमा उपभोक्ताको विश्वास बढाउन सहयोग गर्ने उनले बताए।
पाण्डेले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणका लागि उत्पादनमूलक तथा पूर्वाधार क्षेत्रमा दिगो लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै यसबाट रोजगारी सिर्जना, औद्योगिकीकरण र आर्थिक समृद्धिको आधार थप बलियो बन्ने बताए।