लक्ष्य १७ करोड, असुली २० करोडभन्दा बढी - Chaitanya News
  • 2026-08-10
  • 16:17:00
  • सोमबार,साउन २५, २०८३
  • लक्ष्य १७ करोड, असुली २० करोडभन्दा बढी

    लक्ष्य १७ करोड, असुली २० करोडभन्दा बढी

    जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले बक्यौता असुलीमा कडाइ गरेपछि स्थानीय राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ। उपमहानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोडभन्दा बढी राजस्व सङ्कलन गरेको हो।

    उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२–८३ मा रु १७ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा रु २० करोड ३७ लाख एक हजार ५५९ सङ्कलन गरेको छ। यो लक्ष्यको तुलनामा रु तीन करोड २२ लाखभन्दा बढी हो।

    अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा रु १६ करोड २० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रु १६ करोड ६४ लाख ७८ हजार ९३३ सङ्कलन भएको थियो। अघिल्लो वर्षको तुलनामा गत आवमा रु तीन करोड ७२ लाख २१ हजार ६२६ बढी राजस्व सङ्कलन भएको उपमहानगरपालिकाले जनाएको छ।

    राजस्व शाखाका अनुसार गत आवमा सबैभन्दा बढी बहाल कर र सम्पत्ति करबाट राजस्व सङ्कलन भएको छ। बहाल करबाट रु पाँच करोड ७५ लाख ३९ हजार ६४४ र सम्पत्ति करबाट रु पाँच करोड ६१ लाख पाँच हजार ३३१ सङ्कलन भएको छ।

    त्यस्तै, नक्सापास दस्तुरबाट रु तीन करोड ३७ लाख ८१ हजार, सिफारिस दस्तुरबाट रु एक करोड ३४ लाख ९५ हजार ८९६, बहाल बिटौरी करबाट रु ९२ लाख ३२ हजार २०० र अन्य प्रशासनिक सेवा शुल्कबाट रु ६८ लाख ३४ हजार ९३४ सङ्कलन भएको छ।

    व्यवसाय करबाट रु ५१ लाख ५० हजार ३४७, अन्य सेवा शुल्क तथा बिक्रीबाट रु २९ लाख ६८ हजार ४७५, परीक्षा शुल्कबाट रु १७ लाख ८६ हजार ७००, सरकारी सम्पत्ति बिक्रीबाट रु १५ लाख तथा प्रशासनिक दण्ड जरिवानाबाट रु ११ लाख पाँच हजार ५६३ राजस्व प्राप्त भएको छ।

    बेरुजु शीर्षकमा रु पाँच लाख सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रु २१ लाख २६ हजार ४५३ असुली भएको छ। व्यक्तिगत घटना दर्ता दस्तुरबाट रु पाँच लाख ९७ हजार ७२० सङ्कलन भएको राजस्व शाखा प्रमुख परमेश्वर झाले जानकारी दिए।

    उपमहानगरपालिकाले राजस्वको दायरा विस्तारसँगै बक्यौता असुलीलाई प्राथमिकता दिएपछि कुल राजस्व सङ्कलनमा सुधार आएको जनाएको छ।