काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आदिवासी जनजाति लगायत सीमान्तकृत समुदायको अधिकार कागज र नारामा मात्र सीमित नराखी राज्यको नीति, योजना र स्रोत वितरणमा व्यवहारमै प्रतिबिम्बित गर्नुपर्ने बताएका छन् ।
३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले समावेशी राज्य निर्माणका लागि शिक्षा, स्वास्थ्य, रोजगारीदेखि राज्यका निर्णय प्रक्रियासम्म आदिवासी जनजाति, उत्पीडित, उपेक्षित तथा सीमान्तकृत समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।
उनका अनुसार संविधानले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई स्वीकार गरिसकेको छ । अब संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्दै सबै समुदायलाई राज्यका अवसर र स्रोत–साधनमा समान पहुँच दिलाउनु आवश्यक छ ।
उपराष्ट्रपति यादवले नेपालका परिवर्तनकारी आन्दोलनमा आदिवासी जनजाति समुदायले महत्वपूर्ण योगदान र बलिदान दिएको उल्लेख गर्दै समावेशी लोकतन्त्र, गणतन्त्र र संघीयताको स्थापनासमेत उनीहरूको अधिकार प्राप्तिको संघर्षसँग जोडिएको बताए ।
उनले राज्यका हरेक तहमा समानुपातिक प्रतिनिधित्व अझ सुदृढ गर्नुपर्नेमा जोड दिँदै विविधताबीचको एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
यादवले आदिवासी जनजाति समुदायसँग रहेको परम्परागत ज्ञान, सीप र संस्कृतिलाई संरक्षण गर्नुपर्ने पनि बताए । प्रकृतिसँग सहअस्तित्वमा आधारित उनीहरूको परम्परागत ज्ञान जलवायु परिवर्तनको चुनौती र वातावरणीय सन्तुलन कायम गर्न विश्वकै लागि उपयोगी हुन सक्ने उनको भनाइ थियो ।
नयाँ पुस्तालाई भाषा, संस्कृति र मौलिकताको संरक्षणमा जोड्दै शिक्षा, विज्ञान तथा प्रविधिको प्रयोगमार्फत आधुनिकतासँगै आफ्नो पहिचान जोगाएर अघि बढ्नुपर्ने उनले बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सके मुलुकले सामाजिक तथा आर्थिक क्षेत्रमा थप सकारात्मक प्रगति गर्न सक्ने उपराष्ट्रपति यादवको भनाइ थियो ।