मानव पुँजी र उत्पादकत्व बढाउन नसके उच्च आर्थिक वृद्धि चुनौतीपूर्ण : डा. गुणाकर भट्ट - Chaitanya News
  • 2026-08-09
  • 16:09:21
  • आइतबार,साउन २४, २०८३
  • मानव पुँजी र उत्पादकत्व बढाउन नसके उच्च आर्थिक वृद्धि चुनौतीपूर्ण : डा. गुणाकर भट्ट

    मानव पुँजी र उत्पादकत्व बढाउन नसके उच्च आर्थिक वृद्धि चुनौतीपूर्ण : डा. गुणाकर भट्ट

    काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालले उच्च आर्थिक वृद्धि हासिल गर्न पुँजी र श्रमको मात्रामा वृद्धि गरेर नपुग्ने भन्दै उत्पादकत्व, मानव पुँजी र प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन् ।

    आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले नेपालको दीर्घकालीन आर्थिक वृद्धिदर औसतमा करिब ४ प्रतिशत रहेको उल्लेख गर्दै केही वर्षमा भने नीतिगत सुधार र लगानी विस्तारका कारण ७ प्रतिशतसम्मको वृद्धि हासिल भएको बताए । आगामी दिनमा पनि उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेपसँगै लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

    नेपालको कुल कारक उत्पादकत्व (टोटल फ्याक्टर प्रोडक्टिभिटी) करिब ०.२ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै भट्टले हालको आर्थिक वृद्धि मुख्यतः पुँजी र श्रममा आधारित रहेको बताए । उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न प्रविधि, दक्ष जनशक्ति र कार्यसंस्कृतिमा सुधार आवश्यक रहेको उनले औँल्याए ।

    बढ्दो वैदेशिक पलायन र न्यून जनसंख्या वृद्धिदरका कारण देशभित्र मानव पुँजी निर्माणमा चुनौती थपिएको उनले बताए । शिक्षा, स्वास्थ्य र सीप विकासमा लगानी बढाएर दक्ष जनशक्तिलाई देशभित्रै टिकाउनुपर्नेमा उनले जोड दिए ।

    भट्टका अनुसार नेपालको फिक्स्ड क्यापिटल फर्मेसन अहिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २६ प्रतिशत पुगेको छ । यसअघि लगातार तीन वर्ष यो अनुपात करिब २४ प्रतिशतमा सीमित थियो । भूकम्पपछिको पुनर्निर्माणका क्रममा लगानी बढेका बेला नेपालले लगातार तीन वर्ष करिब ७ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको र त्यस समयमा पुँजी निर्माण जीडीपीको करिब ३० प्रतिशतसम्म पुगेको उनले स्मरण गरे ।

    उनले डिजिटलाइजेसन र आर्टिफिसियल इन्टेलिजेन्सबाट सिर्जना हुने अवसरको अधिकतम उपयोग गर्नुपर्ने बताए । उत्पादकत्व प्रविधि र पुँजीमा मात्र निर्भर नहुने भन्दै उनले काम गर्ने तरिका, कार्यसंस्कृति, शिक्षा तथा संस्थागत संरचनाले समेत उत्पादकत्वमा महत्वपूर्ण प्रभाव पार्ने उल्लेख गरे ।

    राम्रो नीति र बलियो संस्थागत संरचनाले उत्पादकत्व तथा प्रतिव्यक्ति आय वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै भट्टले प्रभावकारी नीति, संस्थागत सुधार र लगानी विस्तारलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।