काठमाडौँ– काठमाडौँमा खाना पकाउने ग्याँसको अभाव देखिएपछि सरकारले वितरण प्रणालीलाई व्यवस्थित गर्न प्रहरी परिचालन गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शनिवारदेखि उपत्यकाका ५५ वटा ग्याँस डिपोमा प्रहरी परिचालन गरी सर्वसाधारण तथा व्यावसायिक प्रतिष्ठानलाई ग्याँस वितरणको व्यवस्था मिलाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार शनिवार मात्रै प्रहरीको निगरानीमा ७ हजार ७३६ सिलिन्डर ग्याँस वितरण गरिएको छ। ग्याँस वितरणमा अनियमितता हुन नदिन तथा सर्वसाधारणले सहज रूपमा ग्याँस पाउने व्यवस्था मिलाउन प्रहरी परिचालन गरिएको उनले बताए।
वितरण गरिएको ग्याँसमध्ये ३ हजार १८९ सिलिन्डर सर्वसाधारणका लागि र ३ हजार ३९ सिलिन्डर व्यावसायिक प्रतिष्ठानका लागि वितरण गरिएको प्रहरीले जनाएको छ।
सुकेधारास्थित श्री ग्याँस डिपोबाट मात्रै होटल तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई २ हजार ८ सय सिलिन्डर ग्याँस वितरण गरिएको छ। त्यस्तै, टोखास्थित जय कालिका ग्याँस डिपोबाट २३४ सिलिन्डर ग्याँस सर्वसाधारणलाई वितरण गरिएको एसएसपी घिमिरेले जानकारी दिए।
ग्याँस अभावको मौका छोपेर हुने कालोबजारी तथा अनियमितता नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ। प्रहरीले ग्याँसको वितरण प्रणालीमाथि निगरानी बढाउँदै अभावको अवस्था नियन्त्रण गर्ने प्रयास गरिरहेको जनाएको छ।