काठमाडौँ– सरकारले पूर्ण सिलिन्डर वितरण प्रणाली लागू भएपछि खाना पकाउने एलपी ग्यासको माग अप्रत्याशित रूपमा बढ्दा बजारमा केही असहज अवस्था देखिएको जनाएको छ। यद्यपि नियमित माग धान्न सक्ने परिमाणमा ग्यास आयात र वितरण भइरहेको सरकारको दाबी छ।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साउनदेखि पूर्ण सिलिन्डर वितरण सुरु भएसँगै ग्यासको माग एकैपटक बढेको बताइन्। उनका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गर्दै वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम गरिरहेको छ।
उनले पर्याप्त ग्यास आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयले कूटनीतिक पहललाई निरन्तरता दिएको जानकारी दिँदै कृत्रिम अभाव र कालोबजारी रोक्न बजार अनुगमनलाई समेत तीव्र बनाइएको बताइन्।
मन्त्री कुमारीका अनुसार हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगहरूको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ भने दैनिक फिलिङ क्षमता करिब १ करोड ७५ लाख ग्यास सिलिन्डर बराबर रहेको छ।
उनले ग्यास आयात, भण्डारण र वितरण प्रक्रियालाई थप पारदर्शी र अनुमानयोग्य बनाउन नेपाल आयल निगम तथा ग्यास उद्योगीसँग समन्वय गरेर सुधारका काम सुरु गरिएको पनि बताइन्। साथै, उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न नेपाल आयल निगमले क्विक रिस्पोन्स टिम गठन गरी परिचालनमा ल्याएको जानकारी दिइन्।