काठमाडौँ– ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सुरु भएसँगै विकास आयोजनाका ठेक्का प्रक्रिया तीव्र गतिमा अघि बढेको बताएका छन्। उनले विगतका वर्षको तुलनामा यसपटक साउन महिनादेखि नै ठेक्का प्रक्रिया सुरु भएकाले कार्यान्वयनमा सकारात्मक संकेत देखिएको उल्लेख गरे।
शुक्रवार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयन भएको छोटो अवधिमै मन्त्रालयले जनसरोकारका विषयलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए। स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधिसँग निरन्तर समन्वय भइरहेको उल्लेख गर्दै उनले सिँचाइ आयोजनाहरूको व्यवस्थापन कार्यविधि र वर्गीकरणका आधारमा पारदर्शी ढंगले अघि बढाइने स्पष्ट पारे।
विद्युत् सेवा विस्तारका क्रममा देखिएको मिटर अभाव क्रमशः समाधान हुँदै गएको जानकारी दिँदै मन्त्री श्रेष्ठले विगतमा खरिद प्रक्रियामा भएको ढिलाइका कारण केही समस्या देखिए पनि अहिले वितरण प्रणाली व्यवस्थित बनाइएको बताए। नेपाल विद्युत् प्राधिकरणले रणनीतिक योजनाअनुसार सबै प्रदेशमा समानुपातिक रूपमा मिटर वितरण गरिरहेको र आवश्यकताअनुसार थप आपूर्ति पनि चाँडै गरिने उनको भनाइ थियो।
मन्त्री श्रेष्ठले सरकारले पूर्वाधार निर्माण तथा विद्युत् सेवामा देखिएका समस्या समाधान गर्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेको समेत बताए।