नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनि, को को भए पास ? (नतिजासहित) - Chaitanya News
  • 2026-08-07
  • 16:25:51
  • शुक्रबार,साउन २२, २०८३
  • नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनि, को को भए पास ? (नतिजासहित)

    नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनि, को को भए पास ? (नतिजासहित)

    काठमाडौँ– नेपाल मेडिकल काउन्सिल विशेष परीक्षाको नतिजा सार्वजनिक भएको छ। आज (शुक्रबार) काउन्सिलले एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल विशेष परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो । सूचना अनुसार परीक्षामा सहभागी कुल १ हजार १३ जना परीक्षार्थीमध्ये ९४७ जना उत्तीर्ण भएका छन्।

    यस्तै ६५ जना अनुत्तीर्ण भएका छन् भने १ जना अनुपस्थित रहेका थिए। यसपटकको विशेष परीक्षामा समग्र उत्तीर्ण प्रतिशत ९३.४८ रहेको काउन्सिलका निमित्त रजिष्ट्रार डा। दिपेन्द्र पाण्डेले जानकारी दिए।

    देशगत नतिजा विवरण अनुसार नेपालका मेडिकल तथा डेन्टल कलेजहरूमा अध्ययन गरेका परीक्षार्थीहरूको सफलता दर उच्च देखिएको छ ।

    नेपालमा अध्ययन गरेका ९१९ जनामध्ये ९०४ जना (९८.३७ प्रतिशत) उत्तीर्ण भएका छन्। यस्तै, पाकिस्तान र अमेरिकाबाट अध्ययन गरी परीक्षामा सहभागी भएका १०० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

    भारतबाट सहभागी १७ मध्ये १३ जना (७६.४७ प्रतिशत) सफल भएका छन्। चीनबाट अध्ययन गरेका ३७ परीक्षार्थीमध्ये ८ जना (२१.६२ प्रतिशत) र बेलारुसबाट सहभागी १ जना अनुत्तीर्ण भएका छन्।

    नेपालभित्रका शिक्षण संस्थाहरूको नतिजा हेर्दा बहुसंख्यक कलेज तथा प्रतिष्ठानको प्रदर्शन उत्कृष्ट रहेको छ। काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्तिपुर डेन्टल कलेज, नेपाल मेडिकल कलेज, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस लगायतका १४ वटा कलेजहरूका शतप्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

    यस्तै, महाराजगञ्ज मेडिकल क्याम्पसका ८६ मध्ये ८४ जना (९७.६७ प्रतिशत) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १०२ मध्ये ९८ जना (९६.०८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण हुन सफल भएका छन्।

    विषयगत नतिजातर्फ कुल ३६ वटा विषयहरूमध्ये अधिकांशमा परीक्षार्थीहरूको नतिजा सकारात्मक आएको छ।