काठमाडौँ– महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी तथा संस्थाका लागि इजाजतपत्र अनिवार्य गरिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक पटकमा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्ने संस्थालाई २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सार्वजनिक सूचना जारी गरेको हो।
राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार अब तोकिएको सीमाभन्दा बढी मूल्यको घरजग्गा किनबेच गर्नुअघि सम्बन्धित संस्था वा कम्पनीले विभागबाट इजाजतपत्र लिनुपर्नेछ। विभागले इजाजतपत्र प्राप्त नगरी ठूलो परिमाणको कारोबार गर्न नपाइने जनाएको छ।
इजाजतपत्रका लागि कारोबारको आकारअनुसार दस्तुर पनि निर्धारण गरिएको छ। एक पटकमा ५ करोड रुपैयाँसम्मको कारोबार गर्न चाहने संस्थाले ५ लाख रुपैयाँ र ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने संस्थाले १० लाख रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
यसअघि अनलाइन आवेदन दिए पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र प्राप्त गर्न नसकेका संस्था तथा कम्पनीले समेत नयाँ प्रक्रियाअनुसार पुनः आवेदन दिनुपर्नेछ।
विभागका अनुसार अनलाइन आवेदन दर्ता गरेपछि आवश्यक कागजातको प्रतिलिपि प्रिन्ट गरी कार्यालयमा बुझाउनुपर्नेछ। साथै, सम्बन्धित संस्थाका सञ्चालक सदस्यहरूले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको विवरणका आधारमा आपराधिक गतिविधिमा संलग्न नरहेको प्रमाण पनि पेश गर्नुपर्ने व्यवस्था छ।
इजाजतपत्र प्रक्रिया तथा आवश्यक कागजातबारे थप जानकारीका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्बन्धित संस्था तथा कम्पनीलाई विभागसँग सम्पर्क गर्न आग्रह गरेको छ।
![]()