पुँजीगत खर्च बढाउन सरकारको नयाँ रणनीति, मन्त्रालयलाई रकमान्तरको स्वतन्त्र अधिकार - Chaitanya News
  • 2026-11-12
  • 12:44:31
  • बिहिबार,कार्तिक २७, २०८३
  • पुँजीगत खर्च बढाउन सरकारको नयाँ रणनीति, मन्त्रालयलाई रकमान्तरको स्वतन्त्र अधिकार

    पुँजीगत खर्च बढाउन सरकारको नयाँ रणनीति, मन्त्रालयलाई रकमान्तरको स्वतन्त्र अधिकार

    काठमाडौँ– सरकारले पुँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न बजेट कार्यान्वयन प्रणालीमै व्यापक परिवर्तन गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयहरूलाई नै सिधै रकमान्तर गर्न दिने, सार्वजनिक खरिद प्रक्रिया छरितो बनाउने तथा तीन वर्षको स्रोत सुनिश्चित गरेर ठूला आयोजना अघि बढाउने व्यवस्था लागू गरिएको जानकारी दिएका छन्।

    सिंहदरबारमा बिहीवार बसेको अर्थ समितिको बैठकमा उनले विगतमा रकमान्तरका लागि अर्थ मन्त्रालयको अनुमति कुर्नुपर्ने प्रक्रियाले बजेट खर्चमा ढिलाइ हुने गरेको भन्दै अब सम्बन्धित मन्त्रालयले आवश्यकताअनुसार आफैं रकमान्तर गर्न सक्ने व्यवस्था गरिएको बताए।

    उनका अनुसार सार्वजनिक खरिद ऐन संशोधनमार्फत ठेक्का प्रक्रिया सहज बनाइएको छ भने मध्यमकालीन सार्वजनिक खर्च खाका (एमटीइएफ) का आधारमा तीन वर्षको स्रोत सुनिश्चित गरी ठूला आयोजना एकैपटक ठेक्का लगाउन सकिने व्यवस्था गरिएको छ।

    अर्थमन्त्री वाग्लेले विगतमा ११८ अर्ब रुपैयाँ बराबरका ठेक्का स्थगित हुनु, निर्माण क्षेत्रका चुनौती र प्रक्रियागत ढिलाइका कारण पुँजीगत खर्च करिब ५० प्रतिशतमा सीमित भएको उल्लेख गर्दै अब खर्चलाई ८० देखि १०० प्रतिशतसम्म पुर्‍याउने लक्ष्यसहित सरकार अघि बढेको बताए।

    राजश्वतर्फ सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। त्यसका लागि करदाता प्रोत्साहन कार्यक्रम, बिलिङ संस्कृतिको प्रवर्द्धन, प्रविधिमैत्री कर प्रशासन र अर्थतन्त्रको औपचारिकीकरणलाई प्राथमिकता दिइने उनले बताए।

    भन्सार तथा ठूला खरिद प्रक्रियामा कर्मचारीहरू कानुनी जोखिमको डरले निर्णय लिन हिच्किचाउने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले असल नियतले काम गर्ने कर्मचारीलाई संरक्षण गर्ने नीति लिइने र आधुनिक प्रविधिको प्रयोगमार्फत राजश्व प्रशासनलाई थप प्रभावकारी बनाइने बताए।

    बैठकमा अर्थमन्त्रीले प्रधानमन्त्रीको नाममा सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचनाप्रति सचेत रहन र आधिकारिक ‘ब्लु टिक’ भएका सामाजिक सञ्जाल ह्यान्डलबाट आएका सूचनामात्र विश्वास गर्न पनि आग्रह गरे।