काठमाडौँ– नेपालको विभिन्न क्षेत्रका तथ्यांकलाई एकीकृत रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल) ले आफ्नो वार्षिक प्रकाशन ‘फ्याक्ट्स अफ नेपाल २०२६’ सार्वजनिक गरेको छ। यो प्रकाशनको ११औँ संस्करण हो।
यस संस्करणमा ‘रंगीय अर्थतन्त्र’ (Colour Economy) अवधारणालाई आधार बनाएर राष्ट्रिय तथा प्रादेशिक परिचय, हरित अर्थतन्त्र, औपचारिक (ह्वाइट) अर्थतन्त्र, पर्पल, गोल्ड, रेड, अरेन्ज, ग्रे तथा राजनीतिक अर्थतन्त्रलगायत १० वटा विषयगत खण्डमा नेपालको समग्र अवस्थालाई तथ्यांकसहित प्रस्तुत गरिएको छ।
प्रकाशनमा कृषि, प्राकृतिक स्रोत, स्वास्थ्य, सामाजिक सुरक्षा, बैंकिङ, वित्त, व्यापार, उद्योग, पूर्वाधारलगायत विविध क्षेत्रका अद्यावधिक तथ्यांक समेटिएको जनाइएको छ। संस्थाका अनुसार यसले नीति निर्माण, अनुसन्धान तथा शैक्षिक अध्ययनका लागि उपयोगी सन्दर्भ सामग्रीको रूपमा काम गर्नेछ।
सन् २०१२ मा स्थापना भएको फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्सले बजार अनुसन्धान, डेटा विश्लेषण, सञ्चार रणनीति तथा तथ्यांकमा आधारित सामग्री उत्पादन गर्दै आएको छ।
‘फ्याक्ट्स अफ नेपाल २०२६’ को मूल्य ५०० रुपैयाँ तोकिएको छ। पुस्तक कथालयमार्फत देशभरका प्रमुख पुस्तक पसलमा उपलब्ध हुनेछ भने थुप्रै डटकमबाट अनलाइन खरिद गर्न सकिने संस्थाले जनाएको छ।