काठमाडौँ– नेपाल आयल निगमले बजारमा देखिएको एलपी ग्यास अभावको मुख्य कारण आयातभन्दा उपभोक्ताको अस्वाभाविक माग र अनावश्यक भण्डारण भएको जनाएको छ। निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गर्दै आगामी दुई साताभित्र आपूर्ति अवस्था सामान्य हुने दाबी गरेको छ।
बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निमित्त कार्यकारी निर्देशक दीपक बरालले ग्यास आयात विगतको तुलनामा बढे पनि बजारमा एकैपटक बढेको मागका कारण वितरणमा दबाब परेको बताए।
उनका अनुसार धेरै उपभोक्ताले एउटा सिलिन्डर प्रयोग भइरहेकै अवस्थामा अर्को सिलिन्डरका लागि नाम दर्ता गर्ने प्रवृत्तिले वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएका छन्। यही कारण बजारमा ग्यासको अभाव देखिएको उनको भनाइ छ।
बरालले निगमले भारतीय आयल कर्पोरेशनसँग दुई महिनाका लागि मासिक ६० हजार मेट्रिक टन एलपी ग्यास माग गरे पनि तत्काल सो परिमाण उपलब्ध गराउन नसकिने जानकारी प्राप्त भएको बताए। यसअघि मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आयात हुँदै आएको थियो।
दसैँ–तिहारलाई लक्षित गर्दै ग्यास आयात बढाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले सरकारले पहल गरी मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके उपभोक्ताका घरमा रहेका खाली सिलिन्डरसमेत भरिने र त्यसपछि बजारको अवस्था सामान्य बन्ने विश्वास व्यक्त गरे।
निगमले अहिलेको समस्या स्थायी अभाव नभई मागको असन्तुलनका कारण सिर्जना भएको उल्लेख गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेको छ। साथै, अबको दुई साताभित्र बजारमा एलपी ग्यासको आपूर्ति सहज हुने दाबी पनि गरेको छ।