काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विगत पाँच वर्षमा जारी भएका ३९ वटा अध्यादेशप्रति मौन बसेका पक्षहरू अहिले अध्यादेशको विषयलाई लिएर सक्रिय भएको भन्दै त्यसको उद्देश्यबारे प्रश्न उठाएकी छन्।
बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले अध्यादेश जारी गर्ने र कानून निर्माण गर्ने विषय सार्वभौम संसद्को अधिकार क्षेत्रभित्र पर्ने भएकाले त्यसमा बाह्य हस्तक्षेप वा अनावश्यक टीकाटिप्पणी स्वीकार्य नहुने बताइन्।
मन्त्री गौतमले विगत पाँच वर्षमा ३९ वटा अध्यादेश जारी भएको स्मरण गराउँदै तीमध्ये केही अध्यादेश असंवैधानिक भएको भन्दै संसदमै बहस भए पनि त्यसबेला कुनै विज्ञप्ति वा सार्वजनिक विरोध नआएको उल्लेख गरिन्। तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएपछि विभिन्न पक्षबाट भइरहेको टिप्पणीलाई लिएर उनले यसको पृष्ठभूमि राजनीतिक पूर्वाग्रह हो कि भन्ने प्रश्न उठाइन्।
उनले कानून निर्माण र अध्यादेश जारी गर्ने विषय संसद्को संवैधानिक अधिकार भएको दोहोर्याउँदै यस्ता निर्णयमा बाह्य दबाब वा हस्तक्षेप उचित नहुने धारणा व्यक्त गरिन्।
स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधानबारे केन्द्रित उक्त समितिको बैठकमा मन्त्री गौतमले संसदीय स्वायत्तता, मर्यादा र सार्वभौम अधिकारको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइन्।