‘देशको जुनसुकै ठाउँमा हिँड्न नपाउने हो भने कानूनी राज्य कहाँ रह्यो ?’ : हर्क साम्पाङ - Chaitanya News
  • 2026-08-04
  • 16:53:39
  • मंगलबार,साउन १९, २०८३
  • ‘देशको जुनसुकै ठाउँमा हिँड्न नपाउने हो भने कानूनी राज्य कहाँ रह्यो ?’ : हर्क साम्पाङ

    ‘देशको जुनसुकै ठाउँमा हिँड्न नपाउने हो भने कानूनी राज्य कहाँ रह्यो ?’ : हर्क साम्पाङ

    काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले जनकपुरमा आफू र आफ्ना कार्यकर्तामाथि भएको अवरोधको घटनालाई लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भएको बताएका छन्। देशको जुनसुकै स्थानमा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकार असफल भएको उनको आरोप छ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले साउन ५ गते जनकपुरको जानकी मन्दिर प्रवेश गर्ने क्रममा श्रम संस्कृति पार्टीका कार्यकर्तामाथि भएको दुर्व्यवहार र कुटपिटको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरे। यस विषयमा आफूले गृहमन्त्रीको ध्यानाकर्षण गराइसकेको पनि उनले जानकारी दिए।

    ‘म यो देशलाई कानूनी राज्य ठान्छु। त्यसैले एउटा सांसद वा कुनै पनि नागरिकले पूर्व होस् वा पश्चिम, देशको जुनसुकै ठाउँमा निर्बाध रूपमा हिँड्न र घुम्न पाउनुपर्छ,’ उनले भने, ‘तर मेरो घर नआइजा, मेरो बाटो नहिँड भन्ने व्यवहार भइरहेको छ। यस्तो अवस्था कानूनी राज्यमा हुन्छ कि जंगली राज्यमा?’

    राईले संसद सहमति र समाधान खोज्ने थलो भए पनि सरकारले सांसदहरूले उठाएका विषयलाई गम्भीर रूपमा नलिएको आरोप लगाए। संसदमा उठेका विषय कार्यान्वयनमा नदेखिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

    सीमासम्बन्धी विषयमा पनि सरकार मौन बसेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले संसदमा आएर स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्‍याए। सभामुखले यस विषयमा रुलिङ नगरेकोप्रति पनि उनले असन्तुष्टि जनाउँदै सीमा सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।