काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बजारमा देखिएको एलपी ग्यासको समस्या आपूर्ति अभावका कारण नभई वितरण प्रणालीमा एकैपटक बढेको मागका कारण उत्पन्न भएको बताएका छन्।
संघीय संसद्अन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको मंगलबारको बैठकमा बोल्दै सचिव दुवाडीले आधा सिलिण्डर वितरणको अभ्यासका क्रममा ठूलो संख्यामा सिलिण्डर नियमित रूपमा रिफिल नभएकाले अहिले पूर्ण १४ केजी ग्यास वितरण सुरु भएपछि ती सबै सिलिण्डर एकैपटक बजारमा फर्किँदा वितरण प्रणालीमा चाप बढेको बताए।
उनका अनुसार मन्त्रालयको पछिल्ला तीन महिनाको तथ्यांक विश्लेषणले करिब ७० लाख सिलिण्डर रिफिल हुनुपर्नेमा ५४ लाख मात्रै रिफिल भएको देखाएको छ। प्रारम्भिक अध्ययनअनुसार करिब २३ लाख सिलिण्डर रिफिल प्रक्रियाबाहिर रहेकाले अहिले ती सिलिण्डर बजारमा आउँदा माग अस्वाभाविक रूपमा बढेको हो।
दुवाडीले विगतमा मासिक ४६ देखि ४७ हजार मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग अहिले करिब ६० हजार मेट्रिक टनसम्म पुगेको जानकारी दिए। यही बढ्दो मागलाई व्यवस्थापन गर्न मन्त्रालयले इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग कम्तीमा एकदेखि डेढ महिनासम्म अतिरिक्त ग्यास उपलब्ध गराइदिन आग्रह गरेको उनले बताए।
हाल करिब ५० हजार मेट्रिक टन ग्यास आपूर्तिको व्यवस्था गरिएको र साउन १९ गतेसम्म ३१ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको सचिव दुवाडीले जानकारी दिए। उनका अनुसार वितरण प्रणाली पूर्ण रूपमा सामान्य हुन भने अझै केही समय लाग्नेछ।
सचिव दुवाडीले देशका ४१ जिल्लामा ग्यास आपूर्ति तुलनात्मक रूपमा सहज रहेको तर २८ जिल्लामा अझै केही समस्या देखिएको बताए। तीमध्ये करिब आठ जिल्लामा विशेष व्यवस्थापन, आपूर्ति समन्वय र निगरानी आवश्यक रहेको जानकारी उनले समितिलाई दिएका छन्।