काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १.२० अंकले घटेर २६८४ अंकमा कायम भएको छ। कारोबारको अधिकांश समय बजार सकारात्मक रहे पनि अन्तिम समयमा आएको दबाबका कारण परिसूचक सामान्य ओरालो लागेको हो।
यद्यपि, कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज १२६ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश समूहगत सूचकमा सामान्य वृद्धि देखिएको छ भने सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कममा सीमित रह्यो।
बैंकिङ ०.२६ प्रतिशत, विकास बैंक ०.२३ प्रतिशत, होटल तथा पर्यटन ०.०१ प्रतिशत, जीवन बीमा ०.०९ प्रतिशत, माइक्रोफाइनान्स ०.३० प्रतिशत तथा निर्जीवन बीमा ०.३० प्रतिशतले बढेका छन्। जलविद्युत् समूह स्थिर रहँदा फाइनान्स ०.२९ प्रतिशत, लगानी ०.१० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५७ प्रतिशत, अन्य ०.८३ प्रतिशत तथा व्यापार समूह ०.३३ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा जलविद्युत् समूह अग्रस्थानमा रह्यो। यस समूहमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार हुँदा वाणिज्य बैंक समूहमा ८१ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ।
सूचीकृत भएयता लगातार सकारात्मक प्रदर्शन गरिरहेको एभरेस्ट कलरको सेयर मूल्य सोमबार पनि १५ प्रतिशतले बढ्यो। त्यस्तै, सप्तकोशी विकास बैंक ११.७७ प्रतिशत, माहुली लघुवित्त ७.१६ प्रतिशत, श्रीनगर एग्रिटेक ४.१३ प्रतिशत र सागर डिस्टिलरी ४.०९ प्रतिशतले उकालो लागे।
यता, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ७.४० प्रतिशतले घट्यो। सालपा विकास बैंक ४.३१ प्रतिशत र भगवती हाइड्रोपावर ३.३६ प्रतिशतले पनि मूल्य गुमाए।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, ग्लोबल आईएमई बैंक, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर सर्वाधिक कारोबार हुने कम्पनी बने।