काठमाडौँ– होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी तथा अव्यवस्थित बसोबासका व्यक्तिहरूलाई सीपमूलक तालिम प्रदान गरी रोजगारीसँग जोड्ने तयारी सरकारले अघि बढाएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको पहलमा मन्त्री रामजी यादवको अध्यक्षतामा पूर्वाधार विकास मन्त्रालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका प्रतिनिधिबीच भएको छलफलले सीप विकास र रोजगारी सिर्जनाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
छलफलमा भक्तपुरको खरिपाटी, बोडे र चाँगुनारायण, काठमाडौँको रानीवन तथा काभ्रेपलाञ्चोकको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका १२५ जना सुकुम्वासीको सीप, रुचि र रोजगारी आवश्यकतासम्बन्धी मूल्याङ्कन प्रतिवेदनमाथि समीक्षा गरिएको थियो।
मूल्याङ्कनका क्रममा सहभागीहरूले सरसफाइ, बगैँचा व्यवस्थापन, साना व्यवसाय, सुरक्षा सेवा, हाउसकिपिङ, सवारी चालक तथा रङरोगनलगायतका क्षेत्रमा काम गर्न रुचि देखाएको पाइएको छ।
बैठकले उनीहरूको रुचि र सीपका आधारमा आवश्यक तालिम प्रदान गरी रोजगारीका अवसरसँग आबद्ध गर्ने निर्णय गरेको छ। यसका लागि पूर्वाधार विकास मन्त्रालय, सडक विभाग र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समन्वय गरी तालिम प्रदायक संस्थामार्फत कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
मन्त्री यादवले सुकुम्वासी समुदायलाई आत्मनिर्भर बनाउन रोजगारीका अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै सम्बन्धित सबै निकायलाई प्रभावकारी समन्वयका साथ काम गर्न निर्देशन दिएका छन्।
छलफलमा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, पूर्वाधार विकास मन्त्रालयका उपसचिव महेशबहादुर थिङ, सडक विभागका उपमहानिर्देशक श्यामबहादुर खड्का, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निमित्त निर्देशक मणिराम गौतम तथा अव्यवस्थित बसोबास तथा सुकुम्वासी समस्या समाधान समितिका अध्यक्ष आनन्द भाटलगायतको सहभागिता रहेको थियो।