आगामी तीन दिन भारी वर्षाको चेतावनी, नदी–खोलामा आकस्मिक बाढीको उच्च जोखिम - Chaitanya News
  • 2026-08-04
  • 15:50:02
  • मंगलबार,साउन १९, २०८३
  • आगामी तीन दिन भारी वर्षाको चेतावनी, नदी–खोलामा आकस्मिक बाढीको उच्च जोखिम

    आगामी तीन दिन भारी वर्षाको चेतावनी, नदी–खोलामा आकस्मिक बाढीको उच्च जोखिम

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    विभागका अनुसार आज देशका पहाडी भूभागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको छ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

    मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

    वर्षाको गतिविधि बढ्ने भएकाले विशेषगरी जोखिम संकेत गरिएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

    नदी–खोलामा बहाव बढ्ने, फ्ल्यास फ्लडको जोखिम

    विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहने जनाएको छ।

    महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

    यस्तै ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) लगायत जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।

    विभागले उच्च जोखिम भएका क्षेत्रमा नदी तटीय बस्ती, होचा भूभाग तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना तथा पूर्वसूचनाको नियमित पालना गर्न पनि विभागले अनुरोध गरेको छ।

    मध्यम जोखिम रहेका जिल्लाका बासिन्दालाई नदी किनारमा अनावश्यक आवतजावत नगर्न, यात्रा गर्दा सावधानी अपनाउन तथा सम्भावित जोखिमबारे अद्यावधिक सूचना लिँदै सुरक्षित रहन विभागले आग्रह गरेको छ।