बाढी–पहिरोको असरः देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा बन्द - Chaitanya News
  • 2026-08-03
  • 10:02:20
  • सोमबार,साउन १८, २०८३
  • बाढी–पहिरोको असरः देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा बन्द

    बाढी–पहिरोको असरः देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा बन्द

    काठमाडौँ– लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेश तथा काठमाडौँ उपत्यकाका विभिन्न सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध रहेको जनाएको छ।

    काठमाडौँ उपत्यकाको ललितपुरस्थित बागमती गाउँपालिका–३ पाण्डुरमा सोमबार बिहान गएको पहिरोले कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

    कोशी प्रदेशमा भोजपुरको बोखिम क्षेत्रमा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको राजदुवालीमा मेची राजमार्ग बन्द रहेकाले वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। तेह्रथुमको लालिगुराँस नगरपालिका–स्थित काँडेमा गएको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ।

    बागमती प्रदेशमा जोखिमलाई मध्यनजर गर्दै केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको बीपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी) मा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ भने मकवानपुरको कान्ति लोकपथ (हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर) मा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ।

    सिन्धुपाल्चोकको चारकिलो र कोदारी क्षेत्रमा गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ। दोलखाको किर्नेटारमा बाढीले लामासाँघु–रामेछाप सडक अवरुद्ध बनाएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। रसुवाको खाल्टे क्षेत्रमा बाढीले त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक पूर्ण रूपमा बन्द गरेको छ।

    गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ। गोरखाको लार्के–बेनीघाट सडक, मनाङको चामे–बेँसीसहर सडक, म्याग्दीको बेनी–जोमसोम सडक तथा लमजुङको बेँसीसहर–मनाङ सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगार्ड खोलामा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीले जनाएको छ।

    प्रहरीले प्रभावित सडकमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।