वित्तीय अनुशासन र कानुनी प्राथमिकता पालना गर्न स्थानीय तहलाई सरकारको निर्देशन - Chaitanya News
  • 2026-08-03
  • 09:57:05
  • सोमबार,साउन १८, २०८३
  • वित्तीय अनुशासन र कानुनी प्राथमिकता पालना गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    वित्तीय अनुशासन र कानुनी प्राथमिकता पालना गर्न स्थानीय तहलाई सरकारको निर्देशन

    काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई बजेट विनियोजन र कार्यान्वयनमा कानुनी व्यवस्था तथा वित्तीय अनुशासन कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

    मन्त्रालयले केही स्थानीय तहले आफ्नो प्राथमिकता क्षेत्रभन्दा बाहिर रहेका संघसंस्थाका नाममा बजेट विनियोजन गरेको तथा खर्च कार्यान्वयनमा वित्तीय अनुशासन कमजोर भएको गुनासो प्राप्त भएपछि मन्त्रीस्तरीय निर्णयमार्फत यस्तो आग्रह गरेको जनाएको छ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका र नगरपालिकाले योजना तर्जुमा गर्दा आर्थिक विकास, गरिबी निवारण, उत्पादनमूलक तथा छिटो प्रतिफल दिने कार्यक्रमलगायत कानुनले तोकेका प्राथमिकताका आधारमा मात्रै बजेट विनियोजन गर्नुपर्ने व्यवस्था छ।

    यस्तै, स्थानीय तहले योजना बनाउँदा संघीय र प्रदेश सरकारका नीति, लक्ष्य, उद्देश्य, समयसीमा तथा प्रक्रियासँग तालमेल मिलाउनुपर्ने, साथै सुशासन, वातावरण संरक्षण र जलवायु परिवर्तनजस्ता विषयलाई समेत प्राथमिकतामा राख्नुपर्ने मन्त्रालयले स्मरण गराएको छ।

    मन्त्रालयका अनुसार योजना तर्जुमा, बजेट विनियोजन र प्रभावकारी कार्यान्वयनमार्फत स्थानीय तहको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई गति दिँदै नागरिकको अधिकतम हित सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व हो।

    यसैलाई ध्यानमा राख्दै स्थानीय तहले प्राप्त बजेटलाई कानुनको परिधिभित्र रही सार्वजनिक हितका क्षेत्रमा केन्द्रित गर्न, विनियोजन कुशलता बढाउन र वित्तीय अनुशासन कायम राख्न मन्त्रालयले पुनः आग्रह गरेको छ।