सिंहदरबारमा सत्तारुढ दलको बैठक बस्दै, मन्त्रिमण्डल विस्तारबारे छलफल हुने - Chaitanya News
  • 2026-05-10
  • 19:57:33
  • आइतबार,बैशाख २७, २०८३
  • सिंहदरबारमा सत्तारुढ दलको बैठक बस्दै, मन्त्रिमण्डल विस्तारबारे छलफल हुने

    सिंहदरबारमा सत्तारुढ दलको बैठक बस्दै, मन्त्रिमण्डल विस्तारबारे छलफल हुने

    काठमाडौँ-  सत्ता साझेदार दलहरूको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ बजे बस्ने तय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिएका छन् । आजको बैठकमा मन्त्रालयहरूको भागबण्डामा सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तयारी छ ।

    सत्ता साझेदार दलहरुबीच कसलाई कति र कुन मन्त्रालय दिने भन्ने विषय टुङ्गो लगाउ बाँकी छ । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार बालकोट र बालुवाटारमा भएको छलफलमा मोटामोटी सहमति भएको बुझिएको छ । त्यो सहमति अनुसार सरकारमा सहभागी दलहरूसँग छलफल गरेर अन्तिम रूप दिने तयारी छ ।

    यसअघि एमालेले उपप्रधानसहित चार मन्त्रीको शपथ गराएको छ भने माओवादीबाट प्रधानमन्त्री र एक उपप्रधानमन्त्री, रास्वपाले उपप्रधानमन्त्री र जनमतले एक मन्त्रीको शपथ गराइसकेको छ । उपप्रधानमन्त्रीहरूको मन्त्रालय तोकिए पनि शपथ लिएका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छैन । बाँकी १७ वटा मन्त्रालय भागबन्डा गर्नुपर्ने छ । अहिलेसम्म एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने सहमति छ ।

    गत पुस ११ गते प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिमण्डललाई पूर्णता दिने सत्ता साझेदार दलहरुबीच सहमति भएको थियो । सोही सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरिसकेका छन् ।