रास्वपा मतदानमा भद्रगोल : भोटिङ मेसिन होइन, उम्मेदवार सूची व्यवस्थापनमै त्रुटि - Chaitanya News
  • 2026-06-25
  • 13:41:36
  • बिहिबार,आषाढ ११, २०८३
  • रास्वपा मतदानमा भद्रगोल : भोटिङ मेसिन होइन, उम्मेदवार सूची व्यवस्थापनमै त्रुटि

    रास्वपा मतदानमा भद्रगोल : भोटिङ मेसिन होइन, उम्मेदवार सूची व्यवस्थापनमै त्रुटि

    चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदानमा देखिएको भद्रगोलको मुख्य कारण भोटिङ मेसिन नभई उम्मेदवारी व्यवस्थापन प्रक्रियामा भएको कमजोरी रहेको खुलेको छ।

    मतदानमा सहभागी प्रतिनिधि तथा उम्मेदवारहरूले भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम न वर्णानुक्रमअनुसार रहेको, न उम्मेदवारी दर्ता क्रममा मिलेको भन्दै असन्तुष्टि जनाएका छन्। साथै विभिन्न क्लस्टरका उम्मेदवारलाई छुट्टाछुट्टै सूचीमा राख्नुको सट्टा ६४ जनालाई एउटै सूचीमा समेटिएको भन्दै पनि प्रश्न उठेको छ।

    रास्वपाका एक नेताका अनुसार उम्मेदवारी दर्ताका क्रममा मधेशी खुला, मधेशी महिला, थारु, थारु महिला लगायत विभिन्न क्लस्टरमा उम्मेदवारी परे पनि अन्तिम नामावली तयार गर्दा ती क्लस्टरहरू स्पष्ट रूपमा छुट्याइएको थिएन। सोही सूची प्राविधिक टोलीलाई उपलब्ध गराइएकाले भोटिङ मेसिनमा पनि त्यही विवरण प्रविष्ट गरिएको थियो।

    ‘६४ जनाको नाम एउटै सूचीमा राखेर प्राविधिकलाई दिइयो। उम्मेदवार कुन क्लस्टरको हो भन्ने विषय प्राविधिकको जिम्मेवारी थिएन, पार्टीले दिएको सूचीअनुसार नै मेसिनमा विवरण प्रविष्ट गरियो,’ ती नेताले बताए।

    यसका कारण उम्मेदवारी दर्ताका बेला प्राप्त भएको क्रमसंख्या र भोटिङ मेसिनमा देखिएको क्रमसंख्या नमिल्दा प्रतिनिधि तथा उम्मेदवारहरू अन्योलमा परेका छन्।

    पार्टी स्रोतका अनुसार उम्मेदवारी दर्ता व्यवस्थापनकै क्रममा एउटै क्लस्टरका फाराम तीन फरक स्थानबाट वितरण तथा संकलन गरिएकाले पनि समस्या थपिएको हो। यसले एउटै सिरियल नम्बर पटक–पटक दोहोरिने अवस्था सिर्जना गरेको र पछि सबै सूची एकीकृत गर्दा प्रारम्भिक क्रममा रहेका उम्मेदवारहरू पछाडि धकेलिएको बताइएको छ।

    पार्टीभित्र यसलाई अनुभवको कमी र निर्वाचन व्यवस्थापनमा आवश्यक समन्वय अभावको परिणामका रूपमा हेरिएको छ।

    रास्वपाले नयाँ कार्यसमिति चयनका लागि प्रयोग गरेको ‘राम–लक्ष्मण भोटिङ मेसिन’ यसअघि नेकपा एमालेको महाधिवेशनसहित विभिन्न राजनीतिक दल तथा संस्थाका निर्वाचनमा समेत प्रयोग हुँदै आएको प्रणाली हो।

    महाधिवेशनमा देखिएको विवादबारे भोटिङ मेसिनको प्राविधिक टोलीले औपचारिक प्रतिक्रिया जनाएको छैन। राम–लक्ष्मण भोटिङ मेसिनका प्राविधिक रामप्रसाद रिमालले यस विषयमा पछि धारणा दिने बताएका छन्।

    मतदान प्रक्रिया, उम्मेदवार सूचीकरण तथा क्लस्टर व्यवस्थापन सम्बन्धी उठेका प्रश्नमा रास्वपाको आधिकारिक धारणा भने आउन बाँकी छ।