काठमाडौं– भारततर्फ चिया निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। सरकारले समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गरी आवश्यक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरूले उद्योग सञ्चालनमा ल्याएका हुन्।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताका अनुसार झापाका ३० वटा सीटीसी चिया उद्योग बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन्। सरकारले उद्योगीहरूको मागप्रति सकारात्मक चासो देखाउँदै समाधानका लागि विशेष कार्यदल गठन गरेपछि उद्योग खोल्ने निर्णय गरिएको उनले बताए।
“सरकारले समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। मन्त्रीस्तरबाट पनि छिट्टै पहल गर्ने प्रतिबद्धता आएपछि उद्योग सञ्चालन गर्ने निर्णय गरेका हौं,” गुप्ताले बताए।
झापाका उद्योग सञ्चालनमा आएसँगै इलामसहित पहाडी जिल्लाका चिया उद्योगहरू पनि क्रमशः खुल्ने तयारीमा रहेका छन्।
समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल
चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहित दुई साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, कृषि मन्त्रालय, भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नापतौल विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रतिनिधिहरू सहभागी छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
यसैबीच समस्या समाधानका विषयमा छलफल गर्न झापा र इलामका चिया उद्योगीहरू काठमाडौंमा रहेका छन्। उनीहरूले सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायसँग निरन्तर संवाद गरिरहेका छन्।
किन बन्द भएका थिए उद्योग ?
गत वैशाख १८ गतेदेखि भारतको चिया बोर्डले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गरेपछि नेपाली चियाको निर्यात प्रभावित भएको थियो।
नयाँ व्यवस्थाअनुसार भारत निर्यात हुने प्रत्येक चिया बोकेको गाडीले अनिवार्य रूपमा प्रयोगशाला परीक्षण गराउनुपर्ने, परीक्षण प्रतिवेदन आउन करिब १५ दिन लाग्ने तथा प्रति गाडी ११ हजार ५०० भारतीय रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको थियो। उद्योगीहरूले यसलाई अव्यावहारिक र व्यापार अवरोधकारी कदम भन्दै विरोध गरेका थिए।
नेपालको विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्यान्डम स्याम्पलिङ’ गर्ने सहमति जनाएको थियो। तर केही दिनपछि पुनः निर्यातकर्ताको गोदाममै पुगेर नमुना संकलन गर्ने र प्रतिवेदन नआएसम्म चिया ढुवानी नगर्न निर्देशन दिएपछि चिया निकासी फेरि ठप्प बनेको थियो।
ठूलो आर्थिक क्षति:
निर्यात अवरोधका कारण करिब एक सय चिया उद्योग बन्द भएका थिए। उद्योग बन्द हुँदा बगानमा टिप्न तयार हरियो चियापत्ती नष्ट हुने अवस्था सिर्जना भएको थियो।
उद्योगीहरूका अनुसार यसबाट दैनिक करिब दुई करोड रुपैयाँ बराबरको आर्थिक क्षति भइरहेको थियो। साथै एक लाखभन्दा बढी श्रमिक र करिब ३० हजार किसान प्रत्यक्ष रूपमा प्रभावित भएका थिए।
नेपालमा वार्षिक रूपमा करिब दुई करोड किलोभन्दा बढी सीटीसी चिया र ६५ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको नेपाल चिया उत्पादक संघको तथ्यांक छ।
उद्योगीहरूले तत्काल किसानको चियापत्ती खेर जान नदिन उद्योग सञ्चालनमा ल्याएको बताएका छन्। तर भारततर्फको निर्यात सहज नभएसम्म उत्पादित चिया गोदाममै भण्डारण गरेर राख्नुपर्ने अवस्था रहने उनीहरूको भनाइ छ।