प्रशासनलाई प्रविधिमैत्री बनाउन सुदूरपश्चिम विश्वविद्यालयको दुईदिने कार्यशाला सुरु - Chaitanya News
  • 2026-08-02
  • 09:47:10
  • आइतबार,साउन १७, २०८३
  • प्रशासनलाई प्रविधिमैत्री बनाउन सुदूरपश्चिम विश्वविद्यालयको दुईदिने कार्यशाला सुरु

    प्रशासनलाई प्रविधिमैत्री बनाउन सुदूरपश्चिम विश्वविद्यालयको दुईदिने कार्यशाला सुरु

    कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले प्रशासनिक सेवा प्रवाहलाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ शैक्षिक प्रशासन तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु गरेको छ।

    महेन्द्रनगरस्थित विश्वविद्यालयमा आइतबारदेखि सुरु भएको कार्यशालामा विश्वविद्यालय र मातहतका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख, विभाग प्रमुख, स्कुल प्रमुख तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको छ।

    विश्वविद्यालयका सूचना अधिकारी नवीन बमका अनुसार विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तर सुधार, सुशासनको संस्थागत विकास तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो।

    कार्यशालाको उद्घाटन विश्वविद्यालयका उपकुलपति प्रा. डा. किसनदत्त भट्टको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ प्रा. डा. सुदन झाले गरेका हुन्।

    कार्यशालामा शैक्षिक प्रशासनमा आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रभावकारी प्रयोग, प्रशासनिक व्यवस्थापनको सुधार तथा प्रविधिमा आधारित सेवा प्रणाली विकासका विषयमा छलफल र प्रशिक्षण प्रदान गरिने विश्वविद्यालयले जनाएको छ।