काठमाडौँ– मधेश प्रदेशका केही जिल्लामा विकसित पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै लोक सेवा आयोगले आगामी दिनका लागि तय गरिएका परीक्षाको मिति र समय पुनःनिर्धारण गरेको छ।
आयोगले परीक्षार्थीहरूको आवतजावतमा समस्या हुन सक्ने अवस्थालाई मूल्याङ्कन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोगअन्तर्गतका विभिन्न कार्यालयबाट सञ्चालन हुने सबै परीक्षा स्थगित गरी नयाँ मितिमा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
संशोधित तालिकाअनुसार साउन १६ गतेदेखि सुरु हुने भनिएका परीक्षा अब साउन २३ गतेदेखि सञ्चालन हुनेछन्। आयोगले नयाँ परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षार्थीलाई सोहीअनुसार तयारी गर्न आग्रह गरेको छ।
आयोगका अनुसार परीक्षार्थीको सुरक्षा र सहज सहभागितालाई प्राथमिकतामा राखेर परीक्षा तालिका परिवर्तन गरिएको हो। अन्य व्यवस्थाहरू भने यथावत् रहने जनाइएको छ।
