काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुनसरीसहित मधेशका केही जिल्लामा देखिएको पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्दै सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न सरकार निरन्तर तथा योजनाबद्ध रूपमा अघि बढिरहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले नागरिकको सुरक्षा, आपसी विश्वासको वातावरण निर्माण र प्रभावित क्षेत्रको अवस्थालाई सामान्य बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे।
उनले राज्यका सुरक्षा तथा प्रशासनिक संयन्त्रहरू आवश्यक समन्वय र सतर्कतासहित परिचालन भइसकेको जानकारी दिँदै नागरिकलाई संयमित रहन आग्रह गरे। घटनाबाट प्रभावित नागरिकसम्म पुग्ने, उनीहरूको सुरक्षाको प्रत्याभूति गर्ने र उत्पन्न परिस्थितिको निष्पक्ष अध्ययन गरी आवश्यक कदम चाल्ने कार्यमा सरकार केन्द्रित रहेको प्रधानमन्त्री शाहको भनाइ थियो।
शान्ति सुरक्षाको अवस्था थप जटिल बन्न नदिन सरकारले विभिन्न तहका निकायबीच समन्वय गर्दै बहुआयामिक पहल अघि बढाइरहेको प्रधानमन्त्री शाहले बताए।
छलफलका क्रममा उनले जनप्रतिनिधिहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न आग्रह गर्नुभयो। संकटको समयमा जनताको समस्या बुझ्दै राज्य र नागरिकबीच विश्वासको सम्बन्ध बलियो बनाउने भूमिका निर्वाह गर्न सांसदहरूलाई प्रधानमन्त्री शाहले अनुरोध गरे।
रास्वपाका सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्ने र सामाजिक एकता कायम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीको राष्ट्रका नाममा भएको सम्बोधनले नागरिकमा विश्वास र सकारात्मक सन्देश प्रवाह गरेको धारणा पनि राखेका थिए।
छलफलमा सहभागी सांसदहरूले दीर्घकालीन रूपमा शान्ति र सद्भाव कायम गर्न स्थानीय धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिबीच निरन्तर संवाद आवश्यक रहेको सुझाव दिएका छन्।
उनीहरूले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रम र अफवाह नियन्त्रण गर्न स्थानीय स्तरमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने तथा प्रभावित क्षेत्रहरूमा एकता, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रवाहलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।