४ दिनपछि बढ्यो सेयर बजार - Chaitanya News
  • 2026-08-01
  • 18:59:28
  • शनिबार,साउन १६, २०८३
  • काठमाडौं– साताको अन्तिम दिन आज (शुक्रबार) सेयर बजार १२.९६ अंकले बढेको छ । अघिल्ला चार दिन लगातार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार १२.९६ अंक बढेको हो ।

    यो वृद्धिपछि नेप्से परिसूचक २६८५ अंकमा कायम भएको छ। यो साताका अघिल्ला चारै दिन बजार घटेको थियो। जसले गर्दा समग्रमा यो साता नेप्से ४९ अंक घट्न पुग्यो। गत शुक्रबार नेप्से २७३४ अंकमा रहेको थियो। पूर्वी तराईमा देखिएको अशान्तले यो साताको बजारलाई बढी प्रभाव पार्‍यो।

    कारोबार रकम केही बढेको छ। अघिल्लो दिन ३ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भयो।

    आज १८० कम्पनीको मूल्य बढ्दा ८२ को घट्यो भने १३ को स्थिर रह्यो। अधिकांश समूहगत सूचक बढेका छन्। सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो।

    बैंकिङ ०.७२, विकास बैंक ०.४८, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.४८, जलविद्युत् ०.६९, लगानी ०.२३, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.२४ तथा अन्य समूह ०.९३ प्रतिशत बढे। निर्जीवन बीमा र व्यापार समूह क्रमशः ०.१६ र ०.०७ प्रतिशत घटे।

    एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो। सूचीकृत भएपछि यस कम्पनीको मूल्य लगातार बढिरहेको छ। त्यस्तै जोशी हाइड्रोपावरको ६.७९, अपर लोहोरेखोलाको ६.४४, युनिभर्सल पावरको ४.३२ तथा विकास हाइड्रोपावरको ३.६८ प्रतिशत मूल्य बढ्यो।

    बोटलर्स नेपाल बालाजुको मूल्य ५.३३ प्रतिशत घट्यो। कालिन्चोक हाइड्रोपावरको ३.५५, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.०३ प्रतिशत मूल्य घट्यो।

    आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ग्लोबल आईएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक छन्।