काठमाडौं– तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले एआईजीदेखि एसएसपी तहसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न क्षेत्रमा परिचालन गरेको छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार परिचालित अधिकृतहरूले सम्बन्धित प्रदेश तथा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै सुरक्षा व्यवस्थापन, सूचना संकलन तथा विश्लेषण, स्रोत–साधन परिचालन, सुरक्षा योजनाको कार्यान्वयन र आवश्यक परे फिल्डमै खटिएर नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।
सुनसरीको कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीच भएको विवादपछि उत्पन्न घटनाक्रमलाई पछ्याउँदै मोरङ, सुनसरी, सिरहा, धनुषालगायत जिल्लामा तनाव बढेको छ। केही स्थानमा आगजनी र तोडफोडका घटना भएपछि प्रशासनले कर्फ्यु लागू गर्नुका साथै नेपाली सेनासमेत परिचालन गरेको छ। हालसम्म उक्त घटनाक्रममा तीन जनाको ज्यान गएको छ।
सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्लामा जिम्मेवारी तोकेर उच्च अधिकृतहरूलाई परिचालन गरेको जनाएको छ।
परिचालित अधिकृतहरू:
एआईजी सिद्धीविक्रम शाह – बाँके
एआईजी हिमालयकुमार श्रेष्ठ – मधेश प्रदेश
एआईजी उमाप्रसाद चतुर्वेदी – कपिलवस्तु
एआईजी ईश्वर कार्की – कोशी प्रदेश तथा सुनसरी
डीआईजी दिनेशकुमार आचार्य – सिरहा
डीआईजी अबि नारायण काफ्ले – सप्तरी
एसएसपी गोपालचन्द्र भट्टराई – सर्लाही
एसएसपी सोमेन्द्रसिंह राठौर – पर्सा
एसएसपी दीपशम्शेर जबरा – रौतहट
एसएसपी नवराज अधिकारी – चितवन
एसएसपी कृष्णप्रसाद पंगेनी – महोत्तरी
एसएसपी होबिन्द्र बोगटी – बारा
एसएसपी ज्ञानेन्द्रप्रसाद फुयाँल – मोरङ
एसएसपी भुवनेश्वर तिवारी – धनुषा
एसएसपी अमरेन्द्रबहादुर सिंह – मधेश प्रदेश