काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सङ्गठन संरचनामा व्यापक पुनर्गठन गर्ने प्रस्ताव अघि सारिएको छ। प्रस्तावअनुसार मन्त्रालयमा अब चारवटा मात्रै महाशाखा रहनेछन् भने १२औँ तहको पद हटाइने व्यवस्था गरिएको छ।
नयाँ संरचनाअनुसार मन्त्रालयमा स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा, जनस्वास्थ्य समन्वय तथा सूचना प्रविधि महाशाखा, प्रशासन महाशाखा तथा नीति, योजना एवं अनुगमन महाशाखा रहनेछन्। हाल सञ्चालनमा रहेको जनसङ्ख्या व्यवस्थापन महाशाखा भने खारेज गरिने प्रस्ताव छ।
यस्तै, मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई स्थापना गरिने व्यवस्था गरिएको छ। मन्त्रीको निजी सचिवालयमा उपसचिव, शाखा अधिकृत तथा आवश्यक सचिवालय कर्मचारीको व्यवस्थासमेत प्रस्तावमा समेटिएको छ।
नीति, योजना तथा अनुगमन महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट शाखा, अनुगमन, मूल्याङ्कन तथा अनुसन्धान शाखा र चिकित्सा सेवा तथा शिक्षा शाखा रहने प्रस्ताव गरिएको छ।
स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखामा स्वास्थ्य संस्था मापदण्ड तथा गुणस्तर नियमन, आयुर्वेद तथा वैकल्पिक चिकित्सा, खाद्य गुणस्तर नियमन तथा औषधि गुणस्तर नियमन शाखा रहनेछन्।
त्यसैगरी, जनस्वास्थ्य समन्वय तथा सूचना प्रविधि महाशाखामा स्वास्थ्य समन्वय, जनसङ्ख्या तथा सूचना शाखा र सूचना प्रविधि तथा इ–हेल्थ शाखा रहनेछन् भने प्रशासन महाशाखाअन्तर्गत प्रशासन तथा मानव संशाधन व्यवस्थापन, आर्थिक प्रशासन र कानुन शाखा सञ्चालन हुने प्रस्ताव छ।
प्रस्तावित संरचनाअनुसार मन्त्रालयअन्तर्गत कुल एक हजार ८०६ पुल दरबन्दी कायम रहने उल्लेख गरिएको छ। साथै, दरबन्दी संरचना स्वीकृत भएको मितिले तीन वर्षपछि मन्त्रालयमा रहेका राजपत्र अनङ्कित दरबन्दी स्वतः खारेज हुने व्यवस्था पनि प्रस्तावमा समावेश गरिएको छ।