देवानगञ्ज घटनापछि सरकारको प्रतिबद्धता: शहीद घोषणा प्रक्रिया, राहत र निष्पक्ष छानबिनसहित ७ बुँदे सहमति - Chaitanya News
  • 2026-07-31
  • 09:47:31
  • शुक्रबार,साउन १५, २०८३
  • देवानगञ्ज घटनापछि सरकारको प्रतिबद्धता: शहीद घोषणा प्रक्रिया, राहत र निष्पक्ष छानबिनसहित ७ बुँदे सहमति

    देवानगञ्ज घटनापछि सरकारको प्रतिबद्धता: शहीद घोषणा प्रक्रिया, राहत र निष्पक्ष छानबिनसहित ७ बुँदे सहमति

    काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारले राहत, न्याय र पुनर्स्थापनासम्बन्धी ७ बुँदे सहमति गरेको छ।

    गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता घटनास्थल पुगेर पीडित परिवारसँग गरेको छलफलपछि भएको सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र प्रत्येक परिवारलाई १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने जनाएको छ।

    सहमतिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतबारे तत्काल अनुसन्धान गर्ने तथा मृतकका प्रत्येक परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने विषय पनि समेटिएको छ।

    त्यसैगरी, छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने र स्थानीय सरकारसँग समन्वय गरी मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।

    घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पीडित परिवार, गृह मन्त्रालय, सुरक्षा निकाय र स्थानीय तहबीच निरन्तर समन्वय गर्दै सहमतिको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। यसअघि दुवै मन्त्रीले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै आवश्यक उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

    सरकार र पीडित परिवारबीच सहमति भएपछि ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने तय भएको छ।