अफवाह र उत्तेजनाबाट टाढा रहन आईजीपी कार्कीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैलाई अपिल - Chaitanya News
  • 2026-07-31
  • 09:41:44
  • शुक्रबार,साउन १५, २०८३
  • अफवाह र उत्तेजनाबाट टाढा रहन आईजीपी कार्कीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैलाई अपिल

    अफवाह र उत्तेजनाबाट टाढा रहन आईजीपी कार्कीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैलाई अपिल

    काठमाडौँ– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा सामाजिक सद्भावमा असर पुग्ने गतिविधिबाट टाढा रहन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन्।

    शुक्रबार जारी भिडियो सन्देशमार्फत उनले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताले सम्पन्न मुलुक भए पनि आपसी सम्मान, सहिष्णुता र भाइचाराका आधारमा अघि बढ्दै आएको उल्लेख गर्दै यही एकताले नेपालको पहिचान र शक्ति निर्माण गरेको बताए।

    उनले धर्म, संस्कार र संस्कृति फरक भए पनि सबै नेपालीको साझा मातृभूमि र साझा भावना एउटै भएकाले एकअर्काको आस्था, संस्कृति र परम्पराको सम्मान गर्नुपर्नेमा जोड दिए।

    आईजीपी कार्कीले विशेषगरी पूर्वी तराईका केही क्षेत्रमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता कार्यले समाजमा अनावश्यक तनाव सिर्जना गर्ने बताए। उनले सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने, उत्तेजना सिर्जना गर्ने वा कानुनविपरीत गतिविधिमा संलग्न हुने कार्य कसैको हितमा नरहेको स्पष्ट पारे।

    संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता, सहिष्णुता र जिम्मेवारी प्रदर्शन गर्नुपर्ने उल्लेख गर्दै उनले सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेका छन्।