काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मन्त्रालय र मातहतका निकायलाई चालु आर्थिक वर्षका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सेवा प्रवाहलाई थप डिजिटल, पारदर्शी र परिणाममुखी बनाउन निर्देशन दिएकी छन्।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री यादवले कम्पनी रजिष्ट्रार कार्यालय र उद्योग विभागका सेवा अनलाइन प्रणालीमा सञ्चालनमा आइसकेको उल्लेख गर्दै बाँकी सबै सेवालाई पनि शीघ्र डिजिटल प्रणालीमा रूपान्तरण गर्न आग्रह गरिन्। उनले प्रविधिमैत्री सेवा विस्तारलाई मन्त्रालयको प्रमुख प्राथमिकतामध्ये एक भएको स्पष्ट पारिन्।
उनले नयाँ सरकार गठनपछि लागू गरिएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाको कार्यान्वयनमा मन्त्रालय र मातहतका निकायले देखाएको सक्रियताको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यही प्रतिबद्धतासहित काम गर्न निर्देशन दिइन्।
मन्त्री यादवले सुशासनलाई सरकारको पहिलो प्राथमिकता भएको दोहोर्याउँदै मन्त्रालय, विभाग तथा मातहतका कार्यालयमा इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वसहित सेवा प्रवाह गर्न कर्मचारीलाई आग्रह गरिन्।
चाडपर्व नजिकिँदै गएको सन्दर्भमा बजार अनुगमनलाई प्रभावकारी बनाउँदै उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणमा कडाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन्।
त्यसैगरी, औद्योगिक वातावरण सुधार, व्यापार विस्तार तथा मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत सहजीकरणका लागि आफू सधैँ तयार रहेको बताउँदै उनले सबै निकायबीच समन्वय र नतिजामुखी कार्यशैली अपनाउन आग्रह गरिन्।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार बैठकमा वार्षिक प्रगति, बजेट कार्यान्वयन, शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाको अवस्था तथा चालु आर्थिक वर्षको कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो। साथै, गत आर्थिक वर्षका उपलब्धिलाई संस्थागत गर्दै चालु वर्षका लक्ष्य समयमै पूरा गर्न मन्त्रालय र मातहतका निकायबीच नियमित समन्वय तथा परिणाममुखी कार्यसम्पादनमा जोड दिइएको थियो।