काठमाडौँ– आज (शुक्रबार) पराह्न १ः१५ बजे संघीय संसद् राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ। आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।
यस्तै, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
यसैगरी, राष्ट्रिय सभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने छिन्।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ः०० बजे बस्दैछ। समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ। समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ।