धनगढी– एमाले–नेकपा सत्ता सहकार्यको सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने निश्चितजस्तै देखिए पनि मुख्यमन्त्री चयनको विषयमा पार्टीभित्र अझै सहमति जुट्न सकेको छैन। सरकार गठनको तयारीसँगै नेतृत्व, मन्त्री छनोट र आन्तरिक शक्ति सन्तुलन मिलाउने विषयमा नेकपाभित्र छलफल तीव्र बनेको छ।
संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्रीको प्रमुख दाबेदारका रूपमा हेरिए पनि उनको नाममा पार्टीभित्र सर्वसम्मति बनिसकेको छैन। केही नेताले भट्टकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् भने अर्को पक्षले औपचारिक निर्णय संसदीय दलको बैठकबाट मात्रै हुने बताउँदै अहिले नै निष्कर्षमा पुग्न नहुने धारणा राखेको छ।
नेकपाका सांसद मानबहादुर धामीले २५ गतेभित्र नयाँ सरकार गठन हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्रीको विषयमा पार्टीभित्र छलफल जारी रहेको बताए। उनका अनुसार उम्मेदवारको अन्तिम टुङ्गो संसदीय दलको बैठकले लगाउने भएकाले अहिले नै कुनै नाम निश्चित भन्न सकिने अवस्था छैन।
यता सांसद अक्कलबहादुर रावलले भने संसदीय दलको नेता भएकै आधारमा खगराज भट्ट मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गरेका छन्। उनले पार्टीभित्र फरक मत हुनु स्वाभाविक भए पनि अन्ततः नेतृत्वले सबैलाई सहमतिमा ल्याउने बताएका छन्।
सरकार गठनअघि मन्त्री पदको बाँडफाँट, मन्त्रालयको जिम्मेवारी र पूर्वमाओवादी तथा पूर्वएमाले पृष्ठभूमिका नेताबीच शक्ति सन्तुलन मिलाउने विषय अहिले पार्टीभित्रको मुख्य चुनौती बनेको छ। सीमित मन्त्री पदका लागि धेरै आकाङ्क्षी हुनु, क्षेत्रीय प्रतिनिधित्व मिलाउनुपर्ने आवश्यकता तथा आन्तरिक समूहहरूको व्यवस्थापनले निर्णय प्रक्रिया थप जटिल बन्ने आकलन गरिएको छ।
खगराज भट्टको नेतृत्वलाई लिएर देखिएको असहजताको पृष्ठभूमि तत्कालीन माओवादी केन्द्रभित्रको विवादसँग पनि जोडिएको छ। उनी एक समय संसदीय दलको नेताबाट हटाइए पनि केन्द्रको निर्देशनपछि पुनः सोही जिम्मेवारीमा फर्किएका थिए। त्यस घटनापछि देखिएको असन्तुष्टिको प्रभाव अहिले पनि पार्टीभित्र पूर्ण रूपमा समाप्त नभएको चर्चा भइरहेका बेला सरकार गठनको प्रक्रिया अघि बढिरहेको छ।