पुँजीगत खर्चमा पर्यटन मन्त्रालयको कमजोर प्रदर्शन, विकास बजेटको १६ प्रतिशत मात्रै खर्च - Chaitanya News
  • 2026-07-29
  • 15:48:37
  • बुधबार,साउन १३, २०८३
  • पुँजीगत खर्चमा पर्यटन मन्त्रालयको कमजोर प्रदर्शन, विकास बजेटको १६ प्रतिशत मात्रै खर्च

    पुँजीगत खर्चमा पर्यटन मन्त्रालयको कमजोर प्रदर्शन, विकास बजेटको १६ प्रतिशत मात्रै खर्च

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत आर्थिक वर्ष २०८२/८३ मा विशेषगरी विकास निर्माणतर्फको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको देखिएको छ। मन्त्रालयले सार्वजनिक गरेको चौथो त्रैमासिक प्रगति विवरणअनुसार समग्र बजेट खर्च ३१.६८ प्रतिशतमा सीमित रहँदा पुँजीगत खर्च झन् कमजोर देखिएको हो।

    गत आर्थिक वर्षका लागि मन्त्रालय र मातहतका निकायलाई ७ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर वर्षभरिमा करिब २ अर्ब ४३ करोड रुपैयाँ मात्र खर्च भएको विवरणमा उल्लेख छ।

    खर्चको प्रकृति हेर्दा चालुतर्फ ५४.१४ प्रतिशत बजेट खर्च भएको भए पनि विकास निर्माण, पूर्वाधार विस्तार तथा आयोजना कार्यान्वयनसँग सम्बन्धित पुँजीगततर्फ भने १६.२१ प्रतिशत मात्रै खर्च भएको छ। यसले पर्यटन पूर्वाधार विकासका अधिकांश योजना अपेक्षित गतिमा अघि बढ्न नसकेको संकेत गरेको छ।

    विशेषगरी पर्यटन विभाग, पुरातत्त्व विभागलगायतका मातहत निकायले पुँजीगत बजेट प्रभावकारी रूपमा खर्च गर्न नसक्दा मन्त्रालयको समग्र कार्यसम्पादन प्रभावित भएको देखिएको छ।

    मन्त्रालयको आफ्नै बजेट कार्यान्वयन पनि सन्तोषजनक देखिएको छैन। मन्त्रालयका लागि विनियोजित २१ करोड ८४ लाख रुपैयाँमध्ये ९ करोड ३० लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन कुल बजेटको ४२.५८ प्रतिशत हो।

    पर्यटन क्षेत्रको पूर्वाधार विस्तार, सम्पदा संरक्षण तथा विकास आयोजनाका लागि छुट्याइएको बजेटसमेत समयमै कार्यान्वयन हुन नसक्दा योजना व्यवस्थापन, कार्यान्वयन क्षमता र अन्तरनिकाय समन्वयमा सुधार आवश्यक रहेको संकेत मन्त्रालयको प्रगति विवरणले गरेको छ।