नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन आज हुने - Chaitanya News
  • 2026-07-27
  • 09:43:04
  • सोमबार,साउन ११, २०८३
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन आज हुने

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन आज हुने

    काठमाडौँ– नागढुंगा सिस्नेखोला सुरुङ मार्गको आज औपचारिक रूपमा उद्घाटन हुने भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागिएको हो।

    पूर्वाधार विकासमन्त्रीको प्रमुख आतिथ्यमा सोमबार बिहान १० बजेर २५ मिनेट जाँदा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

    कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाडी चलाएर सवारी आवागमनको उद्घाटन गर्ने भएका हुन्। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अन्य अत्यावश्यक सवारीसाधनलाई पहिलो चरणमा प्रवेश दिइने भएको छ। केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन गर्न दिने तयारी गरिएको छ।

    सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारीसाधनलाई सञ्चालन हुन दिइने जनाइएको हो । परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कूल २ हजार ६ सय ८८ मिटर लामो सुरुङ मार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ।

    सडक विभागले कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० शुल्क तिर्नुपर्ने जनाएको हो। मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा १ सय १५ र बाहिरिँदा ८० बराबरको शुल्क बुझाउनुपर्नेछ। त्यस्तै, बस, ट्रकले काठमाडौं आउँदा २ सय ६० र बाहिरिँदा २ सय रुपैयाँ बराबरको शुल्क तिर्नुपर्ने विभागले जनाएको हो।।