काठमाडौँ– सरकार–सरकार (जी–टु–जी) श्रम सम्झौताअन्तर्गत गत आर्थिक वर्ष २०८२/८३ मा ८ हजार १९७ नेपाली वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया र इजरायल गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा कम हो।
विभागको तथ्यांकअनुसार जी–टु–जी प्रक्रियाबाट विदेश जानेमध्ये ६ हजार ९४५ पुरुष र १ हजार २५२ महिला रहेका छन्। गन्तव्यका आधारमा दक्षिण कोरियामा ७ हजार १०७ जना तथा इजरायलमा १ हजार ९० जना नेपाली श्रमिक पुगेका छन्।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा यही प्रणालीमार्फत १२ हजार ६५३ नेपाली वैदेशिक रोजगारीमा गएका थिए। त्यतिबेला दक्षिण कोरिया जानेको संख्या १२ हजार १४ र इजरायल जानेको संख्या ६३९ थियो। यसले पछिल्लो वर्ष जी–टु–जीमार्फत विदेश जाने नेपालीको संख्या करिब ४ हजार ४ सयले घटेको देखाउँछ।
नेपालले सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा नेपाली श्रमिक पठाउँदै आएको छ। त्यस्तै, सन् २०२० मा भएको श्रम सम्झौतापछि इजरायलमा विशेषगरी केयरगिभरका रूपमा नेपाली श्रमिक पठाउने व्यवस्था लागू भएको हो।
विभागका अनुसार पछिल्ला चार आर्थिक वर्ष (२०७९/८० देखि २०८२/८३) सम्म जी–टु–जी प्रणालीमार्फत कुल ५४ हजार १५७ नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन्।