काठमाडौं– आज (शुक्रबार) सेयर बजार ७.९० अंक बढेको छ। यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७३४ अंकमा कायम भएको छ। आज बजारको वृद्धिमा बैंकिङको सबैभन्दा महत्त्वपूर्ण योगदान रह्यो। नेप्सेको आजको अंक गत जेठ २७ यताकै उच्च हो।
दिउँसो ११ ः ४६ बजे नेप्से परिसूचक २७४७ अंकसम्म पुगेको थियो, जुन अंक दिनभरको लागि अधिकतम रह्यो। त्यसपछि अन्तिमसम्म नै बजारको वृद्धि सुस्तायो । आज १४३ कम्पनीको मूल्य बढ्दा ११८ को घटेको छ भने १५ को स्थिर रह्यो।
कारोबार रकम बढेको छ। अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब २६ करोडको भयो।
सबैभन्दा शक्तिशाली समूह बैंकिङले आज बजारको वृद्धिलाई ठूलो योगदान दियो। नेप्से जम्मा ०.२८ प्रतिशत बढ्दा बैंकिङ समूह सबैभन्दा धेरै १.१७ प्रतिशत बढ्यो। १ प्रतिशतभन्दा धेरै बढ्ने समूह बैंकिङ मात्रै रह्यो।
त्यस्तै विकास बैंक ०.९६, होटल तथा पर्यटन ०.४२, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.०२, प्रतिशत बढे। व्यापार ०.३५, अन्य ०.२६, उत्पादन तथा प्रशोधन ०.५९, जलविद्युत् ०.१२ तथा फाइनान्स ०.१५ प्रतिशत घटे।
हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो। त्यस्तै सगरमाथा जलविद्युतको ६.५९, खानीखोला हाइड्रोपावरको ६.००, झापा इनर्जीको ५.५० तथा दरामखोला हाइड्रो इनर्जीको ४.६८ प्रतिशत मूल्य बढ्यो।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ७.३८, बोटलर्स नेपाल बालाजुको ३.००, नाडेप लघुवित्तको २.८९, सोलु हाइड्रोपावरको २.८९ प्रतिशत मूल्य घट्यो।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स छन्।