आर्थिक कूटनीतिमा अवैतनिक वाणिज्यदुतको भूमिका बढाउन परराष्ट्र मन्त्रीको आह्वान - Chaitanya News
  • 2026-07-24
  • 10:51:24
  • शुक्रबार,साउन ०८, २०८३
  • आर्थिक कूटनीतिमा अवैतनिक वाणिज्यदुतको भूमिका बढाउन परराष्ट्र मन्त्रीको आह्वान

    आर्थिक कूटनीतिमा अवैतनिक वाणिज्यदुतको भूमिका बढाउन परराष्ट्र मन्त्रीको आह्वान

    काठमाडौँ– सरकारले आर्थिक कूटनीति सुदृढ गर्दै वैदेशिक लगानी, व्यापार विस्तार र अन्तर्राष्ट्रिय साझेदारीलाई प्राथमिकतामा राख्ने नीति लिएको जनाएको छ। यस अभियानमा अवैतनिक वाणिज्यदुतहरूको भूमिका अझ प्रभावकारी बनाइने परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्।

    मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारण सभा तथा चार्टर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपाल र विभिन्न मुलुकबीच आर्थिक, व्यावसायिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदुतहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

    उनले विशेषगरी नेपालमा आवासीय कूटनीतिक नियोग नभएका मुलुकहरूसँग सम्बन्ध विस्तारमा वाणिज्यदुतहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपालको राष्ट्रिय प्राथमिकताअनुसार द्विपक्षीय सहकार्य थप मजबुत बनाउन आह्वान गरे।

    मन्त्री खनालले अवैतनिक वाणिज्यदुतहरूको कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था, नियमावली र सुविधालाई समयानुकूल परिमार्जन गर्न परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको बताए।

    उनले वर्तमान सरकार सुशासन, पारदर्शिता, समावेशी आर्थिक वृद्धि र संस्थागत सुधारमा केन्द्रित रहेको उल्लेख गर्दै नेपालको परराष्ट्र नीतिको मुख्य प्राथमिकता आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार प्रवर्द्धन र नवप्रवर्तन रहेको स्पष्ट पारे।

    मन्त्री खनालले बदलिँदो विश्वव्यापी भू–राजनीतिक र प्राविधिक परिवेशमा अवैतनिक वाणिज्यदुतहरूको अनुभव र संलग्नता अझ महत्वपूर्ण हुने उल्लेख गर्दै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुनी व्यवस्थाको पालना गर्दै उच्च व्यावसायिकता र निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।