अर्ग्यानिक उत्पादनको प्रमाणपत्र नेपालमै दिने व्यवस्था बनाउन प्रधानमन्त्री शाहको निर्देशन - Chaitanya News
  • 2026-07-23
  • 17:52:06
  • बिहिबार,साउन ०७, २०८३
  • अर्ग्यानिक उत्पादनको प्रमाणपत्र नेपालमै दिने व्यवस्था बनाउन प्रधानमन्त्री शाहको निर्देशन

    अर्ग्यानिक उत्पादनको प्रमाणपत्र नेपालमै दिने व्यवस्था बनाउन प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौँ– नेपालमा उत्पादन हुने अर्ग्यानिक कृषि उपजको अन्तर्राष्ट्रियस्तरको प्रमाणीकरण अब स्वदेशमै गर्ने व्यवस्था मिलाउने प्रक्रिया अघि बढ्ने भएको छ। अर्ग्यानिक उत्पादनको प्रमाणीकरणका लागि विदेशी निकायमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री वालेन्द्र शाहले सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक एसोसिएसन नेपालका प्रतिनिधिहरूसँग भएको छलफलमा व्यवसायीहरूले हालको प्रमाणीकरण प्रक्रिया महँगो, जटिल र समय लाग्ने भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण संस्था स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। त्यसपछि प्रधानमन्त्री शाहले स्वदेशमै प्रमाणीकरण प्रणाली विकास गर्न आवश्यक तयारी थाल्न निर्देशन दिएका हुन्।

    हाल नेपालमा उत्पादित अर्ग्यानिक वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न विदेशी प्रमाणीकरण संस्थाबाट प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ। यसका कारण किसान तथा व्यवसायीले ठूलो आर्थिक भार व्यहोर्नुपरेको भन्दै उनीहरूले सरकारसँग दीर्घकालीन समाधानको माग गरेका थिए।

    छलफलका क्रममा अर्ग्यानिक उत्पादनको प्रमाणीकरण खर्चिलो भएकै कारण सरकारले उपलब्ध गराउँदै आएको प्रमाणीकरण अनुदानसमेत रोकिएको विषय उठाइएको थियो। व्यवसायीहरूले अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण संस्था नेपालमै स्थापना नभएसम्म उक्त अनुदानलाई निरन्तरता दिन आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले यस विषयमा सकारात्मक रहेको जनाउँदै आवश्यक निर्णयका लागि सम्बन्धित निकायलाई पहल गर्न निर्देशन दिएका छन्।

    प्रधानमन्त्रीले अर्ग्यानिक कृषि विस्तारलाई सरकारले प्राथमिकतामा राख्ने पनि बताएका छन्। रासायनिक मल र विषादीको अत्यधिक प्रयोग नियन्त्रण गर्दै वातावरणमैत्री तथा स्वास्थ्यकर कृषि प्रणालीलाई प्रोत्साहन गर्ने नीति अघि बढाइने उनको भनाइ थियो।

    व्यवसायीहरूले अर्ग्यानिक मल उत्पादन गर्ने निजी क्षेत्र र सहकारी संस्थालाई पनि सरकारी प्रोत्साहन आवश्यक रहेको बताएका थिए। उनीहरूले प्राङ्गारिक मल उत्पादन तथा खरिदमा रासायनिक मलसरह अनुदान र सुविधा उपलब्ध गराउन माग गरेका थिए। प्रधानमन्त्रीले यस सम्बन्धमा आवश्यक नीतिगत व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

    त्यस्तै, अर्ग्यानिक कृषि उत्पादनको निर्यातमा दिइँदै आएको अनुदान दुई वर्षदेखि रोकिएको विषय पनि छलफलमा उठाइएको थियो। प्रधानमन्त्री शाहले उक्त समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयले आवश्यक कार्यविधि तयार गरिरहेको जानकारी दिएका छन्।

    अर्ग्यानिक उत्पादनको गुणस्तर प्रमाणित गर्ने स्वदेशी प्रणाली विकास भएमा नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन, किसानको लागत घटाउन र निर्यात विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    छलफलमा अर्ग्यानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, संस्थाका पदाधिकारी तथा अर्ग्यानिक कृषि क्षेत्रमा आबद्ध विभिन्न व्यवसायीहरूको सहभागिता रहेको थियो। उनीहरूले अर्ग्यानिक कृषि प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।