काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८२–८३ मा रासायनिक मल आपूर्तिलाई लक्ष्य नजिक पुर्याएको जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार २४ गतेसम्म देशमा पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति भइसकेको छ, जुन वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो।
मन्त्रालयका अनुसार सरकारले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले गत आर्थिक वर्षका लागि रु २८ अर्ब ८२ करोड १४ लाख बजेट विनियोजन गरेको थियो। सोही बजेटअन्तर्गत असार २४ गतेसम्म चार लाख ९१ हजार ३०० मेट्रिकटन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ।
हालसम्म सरकारी स्वामित्वका दुई आपूर्तिकर्ता कम्पनीमार्फत तीन लाख २७ हजार ५७९ दशमलव ८० मेट्रिकटन युरिया, दुई लाख तीन हजार ४२६ दशमलव ३० मेट्रिकटन डीएपी तथा ३० हजार ४८७ दशमलव ७५ मेट्रिकटन पोटास गरी कुल पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल देशभर आपूर्ति गरिएको मन्त्रालयले जनाएको छ।
आपूर्तिसँगै मौज्दात अवस्थासमेत सन्तोषजनक रहेको मन्त्रालयको दाबी छ। असार २४ गतेसम्म देशभरका विभिन्न गोदाममा ९२ हजार ५९२ दशमलव ३५ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ। यसमध्ये ४९ हजार १०४ दशमलव ३० मेट्रिकटन युरिया, २४ हजार १२ दशमलव ८५ मेट्रिकटन डीएपी र १९ हजार ४७५ दशमलव २० मेट्रिकटन पोटास रहेको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ।
बिक्रीतर्फ पनि उल्लेखनीय प्रगति भएको मन्त्रालयको भनाइ छ। अघिल्लो आर्थिक वर्षबाट बाँकी रहेको मौज्दातसमेत समावेश गर्दा असार २४ गतेसम्म पाँच लाख १८ हजार २७८ दशमलव ५५ मेट्रिकटन रासायनिक मल किसानलाई बिक्री गरिएको छ। यसमा तीन लाख सात हजार १६ दशमलव ६० मेट्रिकटन युरिया, एक लाख ९२ हजार ९३१ दशमलव १५ मेट्रिकटन डीएपी तथा १८ हजार ३३० दशमलव ८० मेट्रिकटन पोटास बिक्री भएको मन्त्रालयले जनाएको छ।
यता, थप मल आपूर्ति गर्ने प्रक्रिया पनि जारी रहेको छ। मन्त्रालयका अनुसार हाल २८८ दशमलव ७५ मेट्रिकटन रासायनिक मल बाह्य मार्गबाट नेपालतर्फ ढुवानी भइरहेको छ। ढुवानीमा रहेको मलमध्ये ८६ दशमलव ०५ मेट्रिकटन युरिया र २०२ दशमलव ७० मेट्रिकटन डीएपी रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार मल आपूर्ति, मौज्दात व्यवस्थापन र बिक्री वितरणलाई निरन्तरता दिँदै कृषि उत्पादनमा आवश्यक रासायनिक मलको उपलब्धता सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ।