काठमाडौँ– सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’लाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रबीच संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने तयारी गरिएको छ। आगामी आर्थिक वर्ष २०८३–८४ मा सञ्चालन हुने कार्यस्थलमा आधारित तालिम तथा प्रशिक्षार्थी (अप्रेन्टिससिप) कार्यक्रमलाई श्रम बजारको आवश्यकताअनुसार प्रभावकारी बनाउन युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रसँग विस्तृत छलफल गरेको हो।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा भएको छलफलमा सीप विकास, तालिम र रोजगारीलाई एउटै प्रणालीमा जोड्ने गरी नयाँ नीति तथा कार्यक्रम अघि बढाउने विषयमा केन्द्रित बहस भएको मन्त्रालयले जनाएको छ।
मन्त्री यादवले आन्तरिक रोजगारी विस्तारका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुने उल्लेख गर्दै उनीहरूलाई केवल सुझाव दिने निकायका रूपमा नभई नीति निर्माण र कार्यान्वयनका साझेदारका रूपमा अघि बढाइने बताए।
मन्त्रालयले आगामी आर्थिक वर्षमा १२ भन्दा बढी आन्तरिक रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। यसअन्तर्गत कार्यस्थलमै आधारित प्रशिक्षार्थी तालिम सञ्चालन गरिनेछ भने ‘श्रम संसार’ अनलाइन पोर्टललाई थप व्यवस्थित र प्रभावकारी बनाइने योजना पनि अघि सारिएको छ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले तालिम कार्यक्रम श्रम बजारको वास्तविक मागअनुसार हुनुपर्ने, पाठ्यक्रम निर्माण, सीप प्रमाणीकरण तथा प्रशिक्षार्थी व्यवस्थापनमा निजी क्षेत्रलाई सक्रिय रूपमा सहभागी गराउनुपर्ने सुझाव दिएका थिए।
त्यसैगरी, कार्यविशिष्ट तालिमलाई प्राथमिकता दिने, प्रशिक्षार्थी राख्ने साना उद्योगलाई विभिन्न सहुलियत उपलब्ध गराउने, महिला उद्यमीका लागि इजाजत प्रक्रिया सहज बनाउने तथा रोजगारीमा लैंगिक सन्तुलन कायम गर्ने रोजगारदातालाई प्रोत्साहन गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
बैठकमा स्वदेशमै गुणस्तरीय रोजगारीका अवसर विस्तार गरी युवाको वैदेशिक रोजगारीप्रतिको आकर्षण घटाउने रणनीतिबारे पनि विचार आदानप्रदान भएको थियो। सहभागीहरूले तालिमपछि रोजगारी सुनिश्चित गर्ने संयन्त्र विकास गर्दै श्रम बजारलाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई दीर्घकालीन रूपमा संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्।