चालु पूँजी कर्जाको ‘भेरियन्स’ व्यवस्था फेरि स्थगित, कार्यान्वयन अब २०८४ साउनदेखि - Chaitanya News
  • 2026-07-16
  • 13:39:53
  • बिहिबार,आषाढ ३२, २०८३
  • चालु पूँजी कर्जाको ‘भेरियन्स’ व्यवस्था फेरि स्थगित, कार्यान्वयन अब २०८४ साउनदेखि

    चालु पूँजी कर्जाको ‘भेरियन्स’ व्यवस्था फेरि स्थगित, कार्यान्वयन अब २०८४ साउनदेखि

    काठमाडौं– नेपाल राष्ट्र बैंकले व्यवसायी र बैंकहरूलाई राहत दिँदै चालु पूँजी कर्जा मार्गदर्शनअन्तर्गतको ‘भेरियन्स’ सम्बन्धी व्यवस्था कार्यान्वयनमा थप एक वर्षको समय दिएको छ। यससँगै २०८३ साउन १ देखि लागू हुने भनिएको व्यवस्था अब २०८४ साउनदेखि मात्र लागू हुनेछ।

    राष्ट्र बैंकले चालु पूँजी कर्जा मार्गदर्शन–२०७९ संशोधन गर्दै यो निर्णय गरेको हो। भेरियन्स व्यवस्था लागू भएपछि ऋणीले पेश गर्ने अनुमानित वित्तीय विवरण र पछि प्राप्त हुने लेखापरीक्षण गरिएको वास्तविक वित्तीय विवरणबीचको अन्तर (भेरियन्स) विश्लेषणका आधारमा चालु पूँजी कर्जाको सीमा निर्धारण तथा पुनरावलोकन गर्नुपर्ने प्रावधान रहेको छ।

    यो व्यवस्थाले बैंकलाई कर्जा स्वीकृत गर्नुअघि ऋणीको अनुमानित कारोबार र वित्तीय अवस्थाको विस्तृत विश्लेषण गर्नुपर्ने दायित्व दिन्छ। साथै, लेखापरीक्षण भएको वित्तीय विवरण प्राप्त भएपछि त्यसलाई प्रारम्भिक अनुमानसँग तुलना गरेर कर्जा सीमा समायोजन गर्नुपर्ने व्यवस्था पनि छ।

    तर व्यवसायी र बैंक दुवै पक्षबाट यो व्यवस्था तत्काल कार्यान्वयन गर्दा व्यवहारिक कठिनाइ हुने गुनासो आएपछि राष्ट्र बैंकले पुनः समय थप्ने निर्णय गरेको हो। चालु पूँजी कर्जा मार्गदर्शन २०७९ कात्तिकदेखि लागू भए पनि भेरियन्ससम्बन्धी प्रावधान भने निरन्तर स्थगित हुँदै आएको छ।

    यस व्यवस्थाअनुसार कर्जा नवीकरण वा चालु पूँजी प्रयोजनका आवधिक कर्जाको पुनरावलोकन गर्दा भेरियन्स विश्लेषण अनिवार्य हुनेछ। यद्यपि, ऋणीले मनासिब कारणसहित लेखापरीक्षण गरिएको वित्तीय विवरण पेश गर्न थप समय मागेमा बैंक तथा वित्तीय संस्थाले कर्जा नवीकरण वा पुनरावलोकन गर्न सक्ने व्यवस्था भने यथावत् रहनेछ।