काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य ऐन महरले गणेश नेपालीको मृत्युलाई राज्यको असफल नीति र गैरजिम्मेवार शासनको परिणाम भएको बताएका छन्।
शुक्रबार गणेश नेपालीको मृत्युपछि वीर अस्पताल पुगेका महरले राज्यले नागरिकको सुरक्षा र सेवा गर्नुको सट्टा उनीहरूलाई त्रसित बनाउने, दमन गर्ने र निराश बनाउने नीति अपनाएको आरोप लगाए। उनले यस्तै नीतिका कारण आम नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य भएको दाबी गरे।
‘राज्यले नागरिकको संरक्षण गर्नुपर्ने हो, तर अहिले नागरिकलाई तह लगाउने, भय सिर्जना गर्ने र अधिनायकवाद लाद्ने काम भइरहेको छ,’ महरले भने, ‘गणेश नेपालीको मृत्युको नैतिक र राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्छ।’
उनले अत्यधिक करको भार, गरिब तथा सुकुम्बासीमाथिको राज्यको व्यवहार र जनजीविकाप्रति सरकारले देखाएको बेवास्तालाई यस घटनाको मूल कारणका रूपमा चित्रण गरे। घटनापछि पनि सरकारले देखाएको व्यवहार र नियतले थप शङ्का उत्पन्न गरेको उनको भनाइ थियो।
महरले गणेश नेपालीको मृत्यु प्रकरणलाई गम्भीर रूपमा लिएर सरकारलाई जवाफदेही बनाउन आफ्नो पार्टीले सशक्त रूपमा आवाज उठाउने पनि बताए।