काठमाडौं– फागुन १९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘छड्के २’ को एउटा गीतमा र्यापर भिटेनले स्वर दिएका छन्।
बुधबार काठमाडौंको एउटा स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा भिटेनले स्वर दिएका हुन्।
यो गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण भिटेनको गीत फिल्ममा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए।
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म पोस्टर सार्वजनिक भएसँगै चर्चामा छ।
ग्याङस्टर जनरामा निर्माण भएको फिल्ममा अनमोलका भिन्न लूक्स देख्न सकिन्छ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन्। यो फिल्मको छायांकन चितवन र मुस्ताङमा गरिएको हो।
काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको यो फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्।
प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्मातामा रहेको यो फिल्मको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल तथा लक्ष्मण काफ्ले छन्। ‘छड्के २’ रिभेन्ज ग्याङस्टर फिल्म हो।