‘शिक्षा र रोजगारीबीचको दूरी घटाउन नसक्दा युवा विदेशिँदै छन्’ : पूर्वसचिव  डा. हरि लम्साल - Chaitanya News
  • 2026-07-09
  • 15:40:50
  • बिहिबार,आषाढ २५, २०८३
  • ‘शिक्षा र रोजगारीबीचको दूरी घटाउन नसक्दा युवा विदेशिँदै छन्’ : पूर्वसचिव  डा. हरि लम्साल

    ‘शिक्षा र रोजगारीबीचको दूरी घटाउन नसक्दा युवा विदेशिँदै छन्’ : पूर्वसचिव  डा. हरि लम्साल

    नेपाल  सरकारका पूर्वसचिव तथा शिक्षाविद् डा. हरि लम्साल लामो समयदेखि शिक्षा, सार्वजनिक प्रशासन र नीति निर्माणका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। शिक्षालाई केवल डिग्री वा रोजगारी प्राप्त गर्ने माध्यम नभई चरित्र निर्माण, सामाजिक चेतना र जिम्मेवार नागरिक उत्पादन गर्ने आधारका रूपमा उहाँले निरन्तर वकालत गर्दै आउनुभएको छ।

    चैतन्य खबरसँगको यस विशेष संवादमा डा. लम्सालले आफ्नो संघर्षपूर्ण शैक्षिक यात्रादेखि नेपालको शिक्षा प्रणालीका चुनौती, पाठ्यक्रम सुधार, शिक्षकको भूमिका, प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रभाव, उच्च शिक्षाको अवस्था तथा युवा विदेशिने प्रवृत्तिसम्मका विविध विषयमा धारणा राख्नुभएको छ। उहाँले शिक्षालाई बजारमुखी मात्र नभई मानवीय मूल्य, नैतिकता, नागरिक संस्कार र पूर्वीय दर्शनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

    त्यस्तै, विद्यालय, शिक्षक, अभिभावक र राज्यबीचको साझेदारी, शिक्षालाई रोजगारीसँग जोड्ने नीति, शिक्षकको व्यावसायिकता तथा शिक्षा क्षेत्रमा सुशासनको महत्वबारे पनि उहाँले स्पष्ट विचार व्यक्त गर्नुभएको छ। बालशिक्षा, सिकाइका आधुनिक विधि, सार्वजनिक सेवाको भूमिका र राष्ट्र निर्माणमा शिक्षाको महत्वबारे केन्द्रित यस संवादमा डा. लम्सालले समग्र शिक्षा प्रणालीलाई समयानुकूल, सृजनशील र जीवनोपयोगी बनाउन आवश्यक सुधारका उपायहरू पनि प्रस्तुत गर्नुभएको छ।

    १– तपाईंको बाल्यकालदेखिको शिक्षाको यात्रा कस्तो रह्यो र यसले तपाईंको जीवनमा कस्तो प्रभाव पारेको छ?

    मेरो शिक्षाको यात्रा निकै संघर्षपूर्ण र सामान्य परिवेशबाट सुरु भयो। गाउँको सामान्य धुलौटे माटोमा खेल्दै, केही कुरा सिक्दै मेरो बाल्यकाल बितेको थियो। त्यतिबेलाको समय अहिलेको जस्तो थिएन् शिक्षाका लागि भौतिक स्रोत–साधनहरूको ठूलो अभाव थियो। मैले आफ्नो बाल्यकालको ती संघर्षपूर्ण दिनहरूलाई सम्झिँदा, त्यतिबेला विद्यालयमा नाम लेखाउने प्रक्रियादेखि लिएर किताब र कापीको उपलब्धतासम्म निकै चुनौतीपूर्ण थियो। मेरो बुबा–आमाले पनि पढ्नुपर्छ भन्ने चाहना राख्नुहुन्थ्यो, त्यसैले म पनि आफ्नो शिक्षाप्रति अलि गम्भीर हुन थालेँ।

    मलाई के लाग्छ भने, शिक्षा भनेको केवल कुनै प्रमाणपत्र प्राप्त गर्ने वा परीक्षा पास गर्ने मात्र माध्यम होइन, बरु यसले व्यक्तिभित्र एक किसिमको सामाजिक चेतना र नैतिक जिम्मेवारीको विकास गर्नुपर्छ। मेरो पालामा एसएलसी  उत्तीर्ण गरेपछि मैले शिक्षाको महत्व अझ नजिकबाट बुझ्न पाएँ। त्यतिबेला सीमित श्रोतका बाबजुद पनि विद्यार्थीहरूमा पढ्नुपर्छ भन्ने एउटा दृढता र संस्कार थियो।

    २– नेपालको शिक्षा प्रणालीमा देखिएका समस्या र यसका सीमाहरूलाई तपाईं कसरी हेर्नुहुन्छ ?

    नेपालको शिक्षामा देखिएका समस्याहरूलाई हामीले दुईवटा पाटोबाट हेर्नुपर्ने हुन्छ। पहिलो, विगत ७५–७६ वर्षको हाम्रो शिक्षाको इतिहासलाई हेर्दा, हामीले केही सुधार र प्रगति पक्कै गरेका छौँ। विद्यालयहरूको संख्या र पहुँचमा भएको विस्तारले हाम्रो शैक्षिक अवस्था सुध्रिएको छ, जुन खुसीको कुरा हो। तर अर्को पाटो, अहिलेको विश्व परिवेश र विकसित मुलुकहरूको २०० वर्षको शैक्षिक इतिहाससँग तुलना गर्दा हाम्रो ७५ वर्षको यात्रामा हामीले खोजेको जस्तो गति लिन सकेनौँ कि भन्ने चिन्ता लाग्न सक्छ।

    अहिलेको हाम्रो मुख्य चुनौती भनेको शिक्षाको गुणस्तर र यससँग जोडिएको बजार वा रोजगारी को सम्बन्ध हो। धेरैजसो मानिसहरू अहिले शिक्षालाई केवल बजारसँग जोडेर हेर्ने गर्छन्, जसले गर्दा हाम्रो शिक्षामा गम्भीर प्रश्नहरू उब्जिएका छन्। शिक्षाको पहुच, प्रविधि र शासन प्रणालीसँग शिक्षाको तालमेल नमिल्दा अपेक्षित विकास हुन सकेन। आजको शिक्षाले विद्यार्थीहरूमा एक किसिमको अविश्वास र आत्मविश्वासको कमी सिर्जना गरेको छ। विद्यार्थीहरूलाई अब पढ्नुपर्छ भन्दा पनि, म पढेर के गर्छु र ? मेरो भविष्य के होला ?भन्ने जस्ता मानसिक दबाव र प्रश्नहरूले गाँजेको छ।

    साथै, हाम्रो समाजमा अहिले सिविक सेन्स को कमीले गर्दा नागरिकहरूले आफ्नो अधिकार मात्र खोज्ने, तर आफ्नो कर्तव्य बिर्सने अवस्था छ। एउटा नागरिकको हैसियतले समाजप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्न नसक्नु नै हाम्रो शिक्षाको सबैभन्दा ठूलो असफलता हो। हामीले सिकाउने शिक्षामा नागरिक संस्कार कमजोर भएको छ, जहाँ एक व्यक्तिले अर्को व्यक्तिलाई सहयोग गर्ने वा समाजलाई योगदान दिने भावना भन्दा पनि व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुने प्रवृत्ति हाबी भएको छ। अतः शिक्षाले अब व्यक्तिगत सफलताका साथै सामाजिक हित र सामुदायिक भावनालाई जोड्नु अपरिहार्य भएको छ।

    ३– शिक्षा भनेको पूर्ण रूपमा प्रभावकारी, प्रेरणादायी, सार्थक, सृजनशील हुन, र सहृदयता तथा सचेतनाको चरित्रलाई बोक्न शिक्षाले के–के पक्ष समेट्नु पर्छ ?

    शिक्षाको अर्थ सरल छ। हाम्रो संस्कृतिको असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय भन्ने मन्त्रले शिक्षाको अर्थ स्पष्ट पार्छ। यसको अर्थ ुअन्धकारबाट उज्यालोतिर (अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालोतिर) लाग्नु हो। यदि हामीले यही कुरालाई समात्यौँ भने शिक्षाको अर्थ बुझिन्छ। एक व्यक्ति अन्धकारमा बस्दा के देख्छ र के देख्दैन, ज्ञानको प्रकाशले उसलाई सबै कुरा देखाउँछ। यसले मानिसको मूल्यांकन गर्ने क्षमता वृद्धि गर्छ र त्यसलाई सही ठाउँमा प्रयोग गर्न सकिन्छ।

    शिक्षाको अन्तिम लक्ष्य भनेको व्यक्तिको व्यवहारलाई सकारात्मक दिशामा परिवर्तन गर्नु हो। व्यवहार परिवर्तनका धेरै पक्ष हुन्छन्, जस्तै स्वास्थ्यसम्बन्धी व्यवहार, खानपानसम्बन्धी व्यवहार, र आपसी सम्बन्ध वा कुराकानी गर्ने तरिका। किनकि व्यवहार भनेको जीवनसँग जोडिएको विषय हो र यो जीवनको एउटा संस्कृति हो।

    तर, अहिलेको शिक्षा ट्रेनिङ (तालिम) तिर केन्द्रित भएको छ। दार्शनिकहरूका अनुसार शिक्षाका तीनवटा मुख्य पाटा हुन्छन्, शिक्षित गर्ने, तालिम दिने, र सामाजिकीकरण गर्ने। अहिले हाम्रो ध्यान तालिममा बढी छ। विश्वव्यापी रूपमा आएका शक्तिशाली प्रभावहरूलाई हामीले फिल्टर (परिशोधन) गर्न सकेनौँ। हामीले अरूको विचारलाई नै ठिक भनेर अपनायौँ र आफ्नो आत्मविश्वासलाई भन्दा बाह्य कुराहरूलाई बढी महत्त्व दियौँ।

    अहिलेको शिक्षा प्रणालीमा यो पढ्यो भने यो पाउन सकिन्छ,यो पास गर्यो भने त्यो पाइन्छ भन्ने सोच हाबी भएको छ। शिक्षा अब मोर ट्रेनिङ फोकसु (तालिममा बढी केन्द्रित) भएको छ। विद्यालय स्तरमा पनि यस्तै छ। ए–लेभल पढ्यो भने मेरो व्यक्तित्व विकास हुन्छ, भन्ने छैन, बरु ए–लेभल पढ्यो भने म विदेश जान पाउँछु आइबी  पढ्यो भने यो गर्न पाउँछु जस्ता सोचहरू हाबी छन्। नयाँ ज्ञान सिर्जना गर्नेभन्दा पनि जीवन धान्ने र विदेश जाने उद्देश्य मात्र प्रमुख बन्न गएको छ।

    यो अवस्थामा शिक्षा नितान्त व्यक्ति–केन्द्रित बन्न पुगेको छ। पहिलेको शिक्षामा समग्र व्यवहारमा जोड दिइन्थ्यो, जहाँ मेरो समाज र परिवारप्रति पनि कर्तव्य छ भन्ने भावना हुन्थ्यो। तर अहिले, सबै कुरा पैसासँग जोडिने र तत्काल उपलब्धिलाई मात्र महत्त्व दिने प्रवृत्ति बढेको छ। शिक्षाका दुईवटा फाइदा हुन्छन्ए, उटा ुमोनेटरी बेनिफिट (आर्थिक फाइदा) र अर्को नन्– मोनेटरी बेनिफिट (गैर–आर्थिक फाइदा)। नन्– मोनेटरी बेनिफिट भनेको हाम्रो संस्कृति र व्यवहारसँग जोडिएको कुरा हो। दुर्भाग्यवश, अहिले सबै कुरा आर्थिक फाइदाको छायामा पर्न थालेका छन्।

    ४– अहिलेको हाम्रो शिक्षा प्रणालीले २०–२५ वर्षपछिको समाजसँग जुध्न सक्ने र विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने कत्तिको सक्षम जनशक्ति तयार पारिरहेको छ ? हाम्रो पाठ्यक्रम र शिक्षण विधिमा के कस्ता सुधारका खाँचोहरू छन् ?

    शिक्षा प्रणालीमा सुधारका धेरै सम्भावनाहरू छन्, तर यसलाई एकदमै उत्तम भनेर मान्न सकिँदैन। पहिलेका पाठ्यक्रमहरूमा विद्यार्थी र शिक्षकका लागि एक्सपोजर (एक्सपोजर) कम थियो। अहिलेको युगमा पाठ्यक्रममा समयसापेक्ष सुधारका केही कामहरू भएका छन् र सुधारको धेरै सम्भावना पनि छ। शिक्षालाई अब लिभिङ डकुमेन्ट का रूपमा लैजानुपर्छ र हाम्रो ५–१० वर्षको फिक्स रिजिड स्ट्रक्चरमा अझ काम गर्न बाँकी छ।

    हिजो प्रविधि नभएको समयमा सामाजिक सञ्जालको प्रभाव कम थियो र बालबालिकाहरूको एक्सपोजर सीमित थियो। तब विद्यालय(घर(पुस्तक– झोला भन्दा बाहिर जाने अवसर थिएन। तर अहिले मोबाइलबाटै संसारको ज्ञान प्राप्त भइरहेको छ। मोबाइललाई नकारात्मक रूपमा मात्र नहेरी यसलाई हिडन करिकुलमको रूपमा सकारात्मक प्रयोग गर्न सकिन्छ। अहिलेका बालबालिकाहरूमा ज्ञानका स्रोतहरू बदलिएका छन्। हामीले ज्ञानका स्रोतहरू बदलिँदा पाठ्यक्रमलाई पनि लिभिङ बनाउन सक्नुपर्थ्यो, तर त्यसमा हामी चुक्यौँ।

    अहिलेको पाठ्यक्रमको मुख्य समस्या भनेको यसले बोकेका कन्टेन्ट भन्दा पनि हाम्रो समाज धेरै डाइभर्सिफिकेसन भएको छ। यदि शिक्षकले ज्ञानका यी स्रोतहरूलाई सही ढङ्गले प्रयोग गर्न सक्थे भने, बालबालिकाहरू अझ सक्रिय रूपमा सिक्थे। हामीले पाठ्यक्रमलाई एउटा फ्रेम मानेर डेलिभरी गर्ने जुन परिपाटी छ, त्यसलाई अपडेट गर्न सकेनौँ। त्यसका लागि शिक्षण विधि वा कक्षाकोठाभित्रका क्रियाकलापहरूलाई जीवन्त बनाउनु आवश्यक छ। त्यसलाई सिकाईसँग जोड्नुपर्छ।

    ५– हाम्रा परम्परागत मूल्य, मान्यता र मौलिक चेतनालाई पाठ्यक्रममा कसरी जोड्न सकिन्छ ?

    विश्वव्यापीकरणको आजको सन्दर्भमा, नेपालमा पनि अन्तर्राष्ट्रिय पाठ्यक्रमहरू पढाउने चलन छ। हाम्रो स्थानीय चेतना, परम्परा, मूल्य, मान्यता, आदर्श र सनातन वैदिक दर्शनलाई हालको पाठ्यक्रममा नजोड्दा डिग्री त छ, तर त्यो डिग्री अनुसारको व्यवहार वा क्षमता छैन। युनिभर्सिटीबाट सर्वोत्कृष्ट प्रमाण पत्र हासिल गरे पनि त्यो कम्पिटेन्सी वा ुक्यारेक्टरमा ट्रान्सफर हुँदैन। साँचो अर्थमा हाम्रो चेतनाको दायरा निकै फराकिलो छ, तर हामी आयातित पाठ्यक्रमलाई नै पछ्याइरहेका छौँ।

    अहिलेको हाम्रो समाजमा सामूहिकता, हाइरार्की, ठूलालाई सम्मान गर्ने, माया गर्ने र सांस्कृतिक अन्तरघुलनको एउटा पाटो थियो। यो पूर्वीय दर्शनसँग जोडिएको सहकार्य, समन्वय र सद्भावको पक्ष हाम्रो समाजको विशेषता थियो। जुन दिन हामीले पश्चिमी शिक्षाको नाममा कन्टेन्ट आयात गर्‍यौँ, त्यसले हाम्रो मौलिक सन्दर्भसँग कनेक्सन गुमायो।

    उदाहरणका लागि, दिगो विकास लक्ष्यमा नवीकरणीय ऊर्जाको कुरा छ। हाम्रो परम्परामा पानीको मुहान र धारा संरक्षण गर्ने, त्यहाँ मन्दिर बनाउने, वरपिपल रोप्ने र रूख काट्नेलाई समेत नराम्रो मान्ने हाम्रो मौलिक ज्ञान थियो। नदीनालालाई पुज्ने हाम्रो परम्परा छ। तर त्यसलाई हामीले आयाति ज्ञानसँग मिलाएर संरक्षण गर्ने नाममा फोहोर सफा गर्ने कुरामा मात्र सीमित गर्‍यौँ।

    हामीले यो पाठ्यक्रमलाई एक फ्रेम मानेर डेलिभरी गर्ने काममा कतै न कतै चुकेका छौँ। हामीले शिक्षामा आफ्नो मौलिकता र आधुनिकताबीचको सन्तुलन मिलाउन सक्नुपर्छ।

    ६– हाम्रो वर्तमान शिक्षा प्रणालीले अङ्कगणितीय रूपमा मात्र मूल्याङ्कन गरिरहेको छ, जसलाई हामी पहिले ‘डिभिजन’ भन्थ्यौँ भने अहिले ‘जीपीए’ मा झरेको छ। तर, के एउटा विद्यार्थीको समग्र क्षमताको मूल्याङ्कन केवल यतिमै सीमित छ ?

    तपाईंले धेरै सान्दर्भिक प्रश्न उठाउनुभयो। यो साँचो हो कि अहिलेको हाम्रो मूल्याङ्कन प्रणाली अङ्कगणितीय मूल्याङ्कनमा केन्द्रित छ। तर, संसारमा ठूला परिवर्तन ल्याउने व्यक्तित्वहरूको शैक्षिक प्रदर्शन सधैँ अब्बल नै हुनुपर्छ भन्ने छैन। साँचो मूल्याङ्कनका लागि अङ्कगणितीय ज्ञानलाई मानवीय मूल्य, नैतिक मूल्य र समग्र जीवन पद्धतिको मूल्यसँग जोड्न सक्नुपर्छ।

    ७– मूल्याङ्कनका लागि विद्यार्थीको ‘प्रोफाइल’ को महत्त्व के छ ?

    विद्यार्थीको प्रोफाइल तयार पार्नु भनेको उसको पृष्ठभूमि, घरको अवस्था र क्षमताको सही जानकारी राख्नु हो। उदाहरणका लागि, स्वामी विवेकानन्दको जीवनीलाई लिन सकिन्छ। जब उनले विदेश जाने तयारी गरे, तब उनले आमालाई आश्रमबाट त्यही विद्यार्थी पठाउनुपर्ने भयो जो वास्तवमै सक्षम र योग्य थियो। त्यतिबेला कुनै लिखित परीक्षा वा ‘रिटर्न टेस्ट’ थिएन, तर विवेकानन्दले चक्कुको सहायताले (जसको चुच्चो आफ्नोतिर र बियाँड (बिँड) आमातिर फर्काएर) सहयोग गरेका थिए। यो नै उनको जीवन–जगत बुझ्ने क्षमता थियो।

    अहिले हामीले गरिरहेको निरन्तर मूल्याङ्कन को प्रयासले यही कुरा खोजिरहेको छ। हामी विद्यार्थीको क्षमता के छ, कहाँ कमजोरी छ र कसरी त्यसलाई सुधार्ने भनेर ‘पोर्टफोलियो म्यानेजमेन्ट’ गर्न खोजिरहेका छौँ। तर, व्यवस्थापकीय दृष्टिकोणबाट हेर्दा कतै न कतै ‘ग्रेड’ कै आवश्यकता पर्छ, जुन जीवनका १०० मध्ये मात्र ३ वटा परीक्षाहरूका लागि हुन सक्छ। बाकी ९५ भन्दा बढी प्रतिशत विद्यार्थीको वास्तविक क्षमता त ग्रेड भन्दा बाहिर हुन्छ।

    मेरो व्यक्तिगत धारणा के छ भने, हामीले पूर्वीय दर्शनलाई शिक्षाको मुख्य अङ्ग बनाउनुपर्छ। महाभारतको प्रसंगमा कर्णलाई हेर्न सकिन्छ। उनको क्षमता अद्भुत थियो, तर उनले जीवनभर आफ्नो नाम ९अस्तित्व० का लागि सङ्घर्ष गर्नुपर्‍यो। धेरै स्रोतहरूको अध्ययन गर्दा के देखिन्छ भने, उनले पाण्डवको विनाशका लागि भन्दा पनि कसरी मानवता र कर्तव्य पालना गर्ने भन्नेमा जोड दिएका थिए।

    हामीले आधुनिक शिक्षामा सफ्ट स्किल, सफ्ट पावर र मानवीय मूल्यलाई समावेश गर्नुपर्छ। शिक्षा केवल डिग्रीका लागि मात्र होइन, बरु त्यो क्षमता समाजको सेवाका लागि, समाजको सुधारका लागि र पेशागत नैतिकता पालना गर्नका लागि हुनुपर्छ। हामीले हाम्रो पाठ्यक्रममा आफ्नो मौलिक चेतनालाई जोड्न सक्यौँ भने मात्रै शिक्षाले साँचो अर्थमा चरित्र निर्माण गर्न सक्छ।

    ८– शिक्षामा सुधारको कुरा गर्दा, अहिले शिक्षकहरूको दक्षता, योग्यता र यस क्षेत्रप्रतिको आकर्षण निकै कम देखिन्छ। कतिपय विद्यालयमा गरिएको सर्भेक्षण अनुसार, शिक्षक बन्ने चाहना राख्ने विद्यार्थीहरूको संख्या निकै न्यून छ। यस परिवेशमा शिक्षक तथा शिक्षा सुधारका लागि कस्ता कदम चाल्नुपर्ला ?

    यो प्रश्न निकै महत्त्वपूर्ण छ। मलाई लाग्छ, शिक्षा प्रणालीमा सुधारका लागि हामीले एक होलिस्टिक (समग्र) दृष्टिकोण अपनाउनुपर्छ। केही व्यक्तिहरूले भन्छन् कि हामीले शिक्षामा सुधार गर्न सिंगापुर वा फिनल्यान्डको जस्तै ढाँचा अपनाउनुपर्छ, तर मलाई लाग्छ त्यो अहिलेका लागि संभव छैन।

    पहिलो त समग्र इकोसिस्टमको सुधारः हामीले शिक्षक, विद्यालय, पाठ्यक्रम र विश्वविद्यालयलाई एकैसाथ जोडेर हेर्नुपर्छ। केवल शिक्षक वा पाठ्यक्रममा मात्र केन्द्रित भएर सुधारको बहस गर्दा त्यो अपूर्ण हुन्छ। विद्यालयको वातावरणदेखि लिएर शिक्षकको छनोट विधि, तालिम, र अनुगमन प्रणाली सबैमा सुधार आवश्यक छ।

    दोस्रो जागिरको सुरक्षा र छनोट प्रक्रियाः शिक्षा क्षेत्रमा दक्ष जनशक्तिलाई टिकाई राख्न जागिरको जब डिस्क्रिप्सन (कार्य विवरण) बदल्नुपर्छ। आजको जमानामा शिक्षकको छनोट प्रक्रियालाई पनि समसामयिक बनाउनु आवश्यक छ। केही मुलुकहरूमा इनिसियल टिचर एजुकेसन सँगै एप्टिट्यूड टेस्ट (क्षमता परीक्षण) गर्ने गरिन्छ। हामीले पनि शिक्षक बन्न चाहनेहरूका लागि यस्तो पूर्व(मूल्यांकन प्रणाली राख्नुपर्छ।

    तेस्रो अभिभावकको भूमिका? अहिलेको प्रविधिको युगमा विद्यार्थीको समग्र विकासका लागि अभिभावकको भूमिका झन् महत्त्वपूर्ण बनेको छ। म दुईवटा कुरामा जोड दिन्छु। पहिलो, अभिभावकले विद्यालयको वातावरण बुझ्नुपर्छ। दोस्रो, अभिभावकले शिक्षकसँग सहकार्य गर्नुपर्छ।

    उदाहरणका लागि विद्यालयबाट घर फर्किएका बालबालिकालाई बेलुका अभिभावकले आज विद्यालयमा के भयो, के सिक्नुभयो भनेर सोध्ने बानी बसाल्नुपर्छ। यदि बालबालिकाको सामान हराएको छ वा अरूको सामान आफ्नो झोलामा परेको छ भने अभिभावकले त्यो विषयमा शिक्षकसँग सहकार्य गरेर समाधान खोज्नुपर्छ। यो सहकार्यले बालबालिकामा जिम्मेवारीको भावना विकास गर्छ।

    चौथो संयुक्त साझेदारीः अभिभावकले बालबालिकालाई पढाउनै पर्छ भन्ने छैन, तर उनीहरूसँग समय बिताएर आज के–के पढे, कहाँ समस्या भयो भन्ने जस्ता जिज्ञासाहरू राखेर सहजीकरण गर्न सक्छन्। अबको शिक्षा जोइन्ट पार्टनरसिप (संयुक्त साझेदारी) को मोडेलमा चल्नुपर्छ, जहाँ अभिभावक र विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासका लागि सँगै काम गर्ने वातावरण हुनुपर्छ।

    हामीले कुनै नयाँ जादुई प्रणाली खोज्नु पर्दैन। बरु भएका प्रणालीहरूको मर्मत–सम्भार (मर्मत–सम्भार) र नयाँलाई नयाँ तरिकाले आत्मसात गर्दै विद्यालयको वातावरण सुधार गर्नुपर्छ। जब हामीले शिक्षक, विद्यालय, र अभिभावकलाई एक होलिस्टिक प्याकेज को रूपमा जोड्छौँ, बल्ल वास्तविक शिक्षा सुधार संभव हुन्छ।

    ९– अहिलेको युग भनेको प्रविधिको युग हो। हामी यसलाई आर्टिफिसियल इन्टेलिजेन्स को युग, विज्ञान र प्रविधिको युग अथवा भर्चुअल वर्ल्ड पनि भन्न सक्छौं। प्रविधिको यो विकासले शिक्षा क्षेत्रमा ठूलो प्रभाव पारेको छ। शिक्षामा आएको यो परिवर्तनबारे यहाँको विचार के छ ?

    तपाईंले ठिक भन्नुभयो, प्रविधिको विकास शिक्षाको लागि एउटा ठूलो चुनौती र अवसर दुवै हो। हामीले यसलाई कसरी प्रयोग गर्छौं भन्ने कुरा महत्वपूर्ण छ। प्रविधिलाई सही तरिकाले प्रयोग गर्न सकियो भने यो शिक्षाका लागि वरदान नै हो, तर अनावश्यक र अत्यधिक प्रयोगले यसले अवरोध सिर्जना गर्न सक्छ। अहिलेको समयमा विद्यार्थीहरू होमवर्क (गृहकार्य) गर्न पनि ‘च्याट जि.पि.टी’ वा अन्य ए.आई.प्लेटफर्महरूको सहारा लिन थालेका छन्। यसले विद्यार्थीहरूमा पढ्ने चाहना र आफैंले केही गर्ने क्षमतालाई कमजोर बनाउँदै लगेको छ। हामीले यसलाई सच्याउनै पर्छ।

    १०– पक्कै पनि, विद्यार्थीहरूमा यो बानीले समस्या सिर्जना गरेको छ। यसबाट बच्न वा प्रविधिलाई शिक्षा सुधारमा कसरी प्रयोग गर्न सकिन्छ ?

    हामीले हाम्रो शिक्षा प्रणाली र गृहकार्य दिने तरिका परिवर्तन गर्नुपर्छ। अब ‘ए.आई.’ को जमानामा परम्परागत होमवर्कले काम गर्दैन। हामीले अनुसन्धानमा आधारित, छलफलमा आधारित र समूहगत परियोजनामा आधारित शिक्षा प्रणाली अपनाउनुपर्छ।

    केही वर्षअघि जोनाथन हाइडले लेखेको पुस्तक द एन्क्सियस जेनेरेसनु को सन्दर्भ यहाँ उल्लेख गर्न चाहन्छु, जसले विकसित मुलुकहरूमा ‘स्कूलसम्म मोबाइल फोन बन्द गर्ने’ र विद्यार्थीलाई डिजिटल संसारबाट टाढा राखेर प्रकृतिसँग नजिक हुने गरी ‘वास्तविक खेल’ मा फर्काउने कुरा उठाएको छ। यो निकै प्रभावकारी देखिएको छ। हाम्रो शिक्षा प्रणाली पनि यस दिशामा लाग्नुपर्छ।

    अभिभावक र विद्यालयले पनि आफ्नो भूमिका बदल्नुपर्छ। ए.आई. को सीमित र सकारात्मक प्रयोग मात्र गर्न दिनुपर्छ। अभिभावकहरूले घरमा एउटा अनुशासन कायम गर्न सक्छन्, जस्तै साँझ ७ देखि ८ बजेसम्म मोबाइल फोन बन्द गरेर परिवारसँग संवाद गर्ने, खाना खाँदा मोबाइल नचलाउने जस्ता व्यवहारले विद्यार्थीहरूमा प्रविधिको लत कम गर्न मद्दत गर्छ।

    ११–  उच्च शिक्षाको सन्दर्भमा कस्ता चुनौतीहरू देख्नुहुन्छ ?

    उच्च शिक्षाको क्षेत्रमा निकै गम्भीर चुनौतीहरू छन्। एउटा प्रमुख समस्या ‘रोजगारोन्मुख शिक्षाको अभाव’ हो। अहिलेको शिक्षा प्रणालीले डिग्री त दिएको छ, तर सीप र क्षमता दिन सकेको छैन। अर्को कुरा, नेपालमा स्थापित परिवारका छोराछोरीहरूले राम्रो शिक्षा पाइरहेका छन्, तर धेरै नेपाली विद्यार्थीहरू नेपालको उच्च शिक्षामा विश्वास नगर्ने र विदेशिने क्रम बढ्दो छ।

    हामीले नेपालकै उच्च शिक्षालाई विश्वस्तरीय बनाउन र यसलाई देशकै आवश्यकतासँग जोड्नुपर्छ। शिक्षाले विद्यार्थीलाई केवल डिग्री होइन, विषयवस्तुको गहिरो ज्ञान र सीप सिकाउनुपर्छ। हाम्रो शिक्षा प्रणालीमा एउटा ठूलो कमजोरी के छ भने, हामी शिक्षा र रोजगारीको क्षेत्रलाई अलग(अलग रूपमा हेर्छौं। वास्तवमा, शिक्षाले रोजगारीको अवसर सिर्जना गर्ने क्षमता राख्नुपर्छ र शिक्षा दिने क्षेत्र (विद्यालय–कलेज) ले त्यसलाई समयमै परिमार्जन गर्दै लैजानुपर्छ।

    १२– आजको समयमा युवा पुस्ताको विदेशिने क्रम निकै बढेको छ। शिक्षा र रोजगारीका लागि युवाहरूले किन आफ्नो देश छोडिरहेका छन् ?

    यो एउटा गम्भीर सामाजिक र आर्थिक प्रश्न हो। युवाहरू विदेशिनुको मुख्य कारण भनेको यहाँको शिक्षा प्रणाली र त्यसले प्रदान गर्ने भविष्यप्रतिको अनिश्चितता नै हो। अहिले हाम्रो शिक्षा प्रणालीले डिग्री त प्रदान गरिरहेको छ, तर त्यो डिग्रीले बजारमा आवश्यक पर्ने सीप र रोजगारीको सुनिश्चितता दिन सकिरहेको छैन। जसका कारण विद्यार्थीहरू अध्ययन पूरा गरेपछि आफ्नो भविष्य अन्धकार देख्छन् र विदेशिनु नै एकमात्र विकल्प ठान्छन्।

    यहाँ उच्च शिक्षा लिने विद्यार्थीहरूको ठूलो हिस्सा छ। त्यसमध्ये ९५ देखि ९७ प्रतिशत विद्यार्थीहरू कि त रोजगारी खोज्ने तर्फ लाग्छन्, कि त स्वरोजगार बन्ने संघर्ष गर्छन्। उनीहरूको मुख्य चाहना भनेको आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने र आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्ने हो। तर, नेपालमा स्वास्थ्य, प्राविधिक वा प्रशासनिक क्षेत्रमा समेत पर्याप्त दरबन्दी खुल्न सकेको छैन। जब कुनै विद्यार्थीले लामो समय मेहेनत गरेर डिग्री हासिल गर्छ र स्वदेशमा काम पाउने वातावरण देख्दैन, तब ऊ बाध्य भएर बाहिरिन्छ।

    १३–  विदेशिने अवस्थालाई रोक्न वा युवाहरूलाई स्वदेशमै भविष्य देखाउन के गर्न सकिन्छ ?

    यो समस्याको समाधानका लागि केही ठोस कदमहरू चाल्नैपर्छ। पहिलो कुरा, शिक्षालाई सिधै रोजगारी र देशको आवश्यकतासँग जोड्नुपर्छ। हामीले कस्तो जनशक्ति उत्पादन गरिरहेका छौँ र बजारलाई कस्तो जनशक्ति चाहिएको छ भन्ने कुराको तालमेल मिलाउन आवश्यक छ।

    दोस्रो, राज्यले यहाँको श्रमको सम्मान र उचित पारिश्रमिकको वातावरण बनाउनुपर्छ। केही प्रतिशत युवाहरू ग्लोबल सिटिजन बन्ने सोचका साथ विदेश जान खोज्छन्, त्यो स्वभाविक हो। तर, आफ्नो माटोमा बसेर केही गर्न चाहने ठूलो जमातलाई भने राज्यले नै संरक्षण गर्नुपर्छ। यदि हामीले यहाँ रोजगारीका अवसरहरू सिर्जना गर्न सक्यौँ र पढेका युवाहरूले समयमै अवसर पाउने वातावरण बनाउन सक्यौँ भने, निश्चित रूपमा विदेशिने क्रममा केही हदसम्म कमी आउनेछ। यो केवल शिक्षाको मात्र नभई हाम्रो समग्र नीतिगत र प्रणालीगत कमजोरी हो, जसलाई सुधार्नुको अर्को विकल्प छैन।

    १४– अहिलेको शिक्षा नीतिमा सुधारका लागि के–के कुराहरू समावेश गर्नुपर्छ ? र, शिक्षकहरूको राजनीतिक संलग्नताको विषयलाई कसरी हेर्ने ?

    शिक्षा र राजनीतिको सन्दर्भमा मेरो स्पष्ट धारणा छ। निर्वाचन आयोगमा राजनीतिक दलका पदाधिकारीहरूको सूची हुन्छ। हाम्रो शिक्षा ऐनको आठौँ संशोधनमा शिक्षकहरूलाई राजनीतिक दलमा संलग्न हुन नपाउने व्यवस्था गर्नुपर्थ्यो, तर हामीले त्यो गर्न सकेनौँ। कुनै शिक्षक राजनीतिक दलको पदाधिकारीमा बसेका छन् भने तिनलाई शिक्षकका रूपमा निरन्तरता दिनुहुँदैन।

    शिक्षकले विद्यालयमा दिनुपर्ने समय तिनको राजनीतिक संलग्नताका कारण प्रभावित हुन्छ। तसर्थ, शिक्षकले राजनीतिक दलको कुनै पनि पदीय जिम्मेवारीमा बस्न पाउँदैनन्। विचार र आस्था राख्न पाउनु त एउटा लोकतान्त्रिक स्वतन्त्रता हो, तर त्यसलाई विद्यालयमा दिने समयसँग जोडेर हेर्नुपर्छ।

    अर्कोतर्फ, हामी अहिले भएकै कानुनको सही कार्यान्वयन गर्न सके पनि धेरै सुधार गर्न सक्छौँ। मलाई लाग्छ, धेरै समस्या स्ट्रक्चरल (ढाँचागत) छन्। जस्तै, पहिले ४–५ हजार विद्यार्थी हुने ठूला क्याम्पसहरू एउटा क्याम्पस चिफले सम्हाल्थे, तर अहिले थोरै विद्यार्थीका लागि पनि छुट्टै विश्वविद्यालय बनाउने जस्ता संरचनागत निर्णयहरूले समस्या सिर्जना गरिरहेका छन्।

    यस्ता संरचनागत परिवर्तनका लागि कानुन नै संशोधन गर्नुपर्छ, जसका लागि समय लाग्छ। तर, जुन विषयमा कानुनको आवश्यकता पर्दैन, जस्तै—शिक्षण कार्यमा सुधार, मोबाइलको प्रयोगमा नियन्त्रण र कक्षाकोठाको वातावरण सुधार्ने जस्ता कुराहरूमा आजैबाट काम सुरु गर्न सकिन्छ। हामीले स्रोत, साधन र जनशक्तिको सही परिचालन गर्न सक्यौँ भने वर्तमान शिक्षा प्रणालीमा निकै ठूलो सुधार ल्याउन सकिन्छ।

    १५– शिक्षा प्रशासन र नीतिमा वर्तमान सरकारको पहल र प्रतिबद्धता कस्तो छ ?

    वर्तमान सरकारको काममा प्रतिबद्धता र नयाँ कुरा ल्याउने प्रयास देखिन्छ। तर, शिक्षा एउटा अत्यन्तै जटिल गभर्नेन्सको विषय हो, जहाँ अनुभवको निकै ठूलो भूमिका हुन्छ। निर्णय लिने क्रममा अत्यन्तै संवेदनशील हुनुपर्छ। एउटा सानो निर्णयले समेत लामो समयसम्म गम्भीर परिणाम ल्याउन सक्ने हुनाले यसलाई व्यवस्थापन गर्न गम्भीर हुनु आवश्यक छ। सरकारले लिएको प्रतिबद्धतालाई सहि ढङ्गले कार्यान्वयन गर्न सक्नुपर्

    १६– सरकारले निजी विद्यालयहरूमा लगाउन लागेको ३ प्रतिशत करलाई कसरी हेर्नुहुन्छ ?

    शिक्षाको नाममा कर लगाउने सरकारको कदमबारे दुईवटा कुरा भन्न चाहन्छु,

    पहिलो विद्यालयहरूको वर्गीकरणः विद्यालयहरू एउटै लेबलका छैनन्। हाई–पेइङ अभिभावक र न्यून आय भएका अभिभावकहरूलाई एउटै करको दायरामा राख्नु न्यायसङ्गत भएन।

    दोस्रो करको उपयोगस्सरकारले शिक्षाको नाममा कर उठाउँदा त्यो पैसा शिक्षा क्षेत्रमै उपयोग हुनुपर्छ। यदि शिक्षाको बजेट बढ्यो भने त्यसले आम नागरिकको विश्वास बढाउँछ।

    मैले धेरै निजी विद्यालयका सञ्चालकहरूसँग भेटेको छु। उनीहरूले कर नलागे हुन्थ्यो भन्ने सामान्य कुरा गरे पनि, धेरैको धारणा यो कर शिक्षा क्षेत्रमै प्रयोग हुनुपर्छ भन्ने छ। यदि सरकारले यसलाई सही तरिकाले सम्बोधन गर्यो भने धेरै अभिभावकहरूले यसलाई शैक्षिक सुधारमा आफ्नो योगदानका रूपमा लिनेछन्।

    १७– अन्तमा विद्यालयहरूमा शिक्षालाई कमोडिटी (वस्तु) बनाउनु हुँदैन भन्ने कुरामा तपाईंको स्पष्ट धारणा के छ ?

    निजी विद्यालयमा शिक्षालाई कमोडिटी बनाउनु हुँदैन, न्यूनतम आधारभूत शिक्षा राज्यको जिम्मामा हुनुपर्छ। विगतमा कानुनले विद्यालयलाई कम्पनीमा जान दिने जुन गल्ती गरेको थियो, त्यसलाई सच्याउने बेला आएको छ। अहिलेको सबैभन्दा ठूलो चुनौती अहिलेसम्म भएको निजी विद्यालयको लगानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने हो। यसको लागि राज्यले स्पष्ट नीति र अनुसन्धानमा आधारित योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।

    हेर्नुहोस् भिडियो: