काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आगामी आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीतिले लचिलो नीतिगत व्यवस्थालाई निरन्तरता दिँदै समग्र आर्थिक हितलाई ध्यान दिएको बताएका छन्।
आज (मंगलबार) मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले आर्थिक गतिविधिमा सुधार आउने अपेक्षा रहेकाले अघिल्लो अवधिमा अपनाइएको लचिलो मौद्रिक दृष्टिकोणलाई निरन्तरता दिइएको जानकारी दिएका हुन्।
उनका अनुसार सरकारले ल्याएको बजेट कार्यान्वयनसँगै आर्थिक गतिविधि विस्तार हुने र बजारमा रहेको तरलता क्रमशः उपयोग हुँदै जाने अनुमान गरिएको छ। तर, विप्रेषण, पर्यटन क्षेत्रबाट हुने आम्दानी तथा सरकारी खर्चका कारण थप तरलता प्रवाह हुने भएकाले वित्तीय प्रणालीमा तरलताको चाप व्यवस्थापन गर्न सकिने राष्ट्र बैंकको आकलन रहेको उनले बताए।
गभर्नर पौडेलले तरलताको अवस्थाअनुसार उपयुक्त मौद्रिक उपकरण प्रयोग गर्ने तयारी राष्ट्र बैंकले गरेको जानकारी दिए।
उनले नयाँ मौद्रिक नीतिले आम निक्षेपकर्ता, कर्जा लिने व्यक्ति तथा व्यवसायी र बैंक तथा वित्तीय संस्थाको हितलाई सन्तुलित रूपमा सम्बोधन गर्ने उद्देश्य राखेको दाबी गरे।