काठमाडौँ– सिँचाइ सुविधा विस्तारसँगै कृषि उत्पादनलाई दिगो रूपमा बढाउन सरकारले अब सिँचाइ, कृषि प्रविधि, उत्पादन र बजार व्यवस्थापनलाई एउटै योजनाअन्तर्गत अघि बढाउने तयारी गरेको छ। यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्।
मंगलबार ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच भएको भेटवार्तामा सिँचाइ पूर्वाधारलाई कृषि उत्पादनसँग प्रत्यक्ष जोड्ने विषयमा छलफल भएको हो।
भेटमा मन्त्री श्रेष्ठले खेतसम्म सिँचाइ सुविधा पुर्याउनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै गुणस्तरीय बीउ, मल, आधुनिक कृषि प्रविधि, प्राविधिक सेवा र उत्पादनको सुनिश्चित बजार व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले सिँचाइ र कृषि क्षेत्रका कार्यक्रमलाई छुट्टाछुट्टै मन्त्रालयको सीमामा नराखी संयुक्त योजना र समन्वित कार्यान्वयनमार्फत अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
कृषिमन्त्री चौधरीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म दुई मन्त्रालयबीच सहकार्यलाई थप प्रभावकारी बनाइने बताइन्।
यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका रानी–जमरा–कुलरिया, सिक्टा, बबई तथा राजापुर सिँचाइ आयोजनाको स्थलगत अनुगमन गरेका थिए। अनुगमनका क्रममा आयोजना प्रमुख, प्राविधिक र किसानसँग आयोजनाको प्रगति, चुनौती र आवश्यकताबारे छलफल गरिएको थियो।
निर्माणाधीन बबई सिँचाइ आयोजनाबाट बर्दियाका छ स्थानीय तहअन्तर्गत करिब ३६ हजार हेक्टर कृषि क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ। त्यसैगरी रानी–जमरा–कुलरिया आयोजनाले कैलालीमा करिब ३७ हजार ८०० हेक्टर र सिक्टा सिँचाइ आयोजनाले बाँकेमा ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेका छन्।
मन्त्रालयका अनुसार यी आयोजना सम्पन्न भएपछि कृषि उत्पादन र उत्पादकत्व वृद्धि, खाद्य सुरक्षा सुदृढीकरण, किसानको आम्दानी वृद्धि तथा ग्रामीण अर्थतन्त्रलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै सिँचाइ आयोजनालाई भौतिक पूर्वाधारमा मात्र सीमित नराखी कृषि आधुनिकीकरण, व्यावसायिक खेती विस्तार र ग्रामीण विकासको आधारका रूपमा अघि बढाइने मन्त्रालयको योजना छ।