मूल्य वृद्धिलाई नियन्त्रण गर्दै उपभोक्ताको हित सुरक्षित गर्न सरकारले आवश्यक पहल गरिरहेको छ : उद्योग मन्त्री - Chaitanya News
  • 2026-07-07
  • 15:14:33
  • मंगलबार,आषाढ २३, २०८३
  • मूल्य वृद्धिलाई नियन्त्रण गर्दै उपभोक्ताको हित सुरक्षित गर्न सरकारले आवश्यक पहल गरिरहेको छ : उद्योग मन्त्री

    मूल्य वृद्धिलाई नियन्त्रण गर्दै उपभोक्ताको हित सुरक्षित गर्न सरकारले आवश्यक पहल गरिरहेको छ : उद्योग मन्त्री

    काठमाडौँ– आज (मंगलबार) राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले बजारमा देखिएको अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्दै उपभोक्ताको हित सुरक्षित गर्न सरकारले आवश्यक पहल गरिरहेको बताएकी छन्।

    मन्त्री कुमारीले बजार अनुगमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता संरक्षणका क्षेत्रमा सरकार सक्रिय रहेको उल्लेख गरेकी छन्।

    बैठकमा सांसद मदन कुमारी साहले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सार्वजनिक गरिएको मूल्य विश्लेषण प्रतिवेदन २०८२–८३ ले देखाएका खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको विषय उठाएकी थिइन्।

    उनले इन्धनको मूल्य बढ्दा यातायात तथा हवाई सेवाको भाडामा समेत असर परेको, त्यसको प्रत्यक्ष प्रभाव न्यून आय भएका नागरिकमा परेको र समग्र अर्थतन्त्र महँगोतर्फ उन्मुख भएको भन्दै सरकारको स्पष्ट धारणा माग गरेकी थिइन्।

    मन्त्रीले बजारमा हुने मूल्य उतारचढावलाई सम्बोधन गर्न र उपभोक्तालाई राहत पुग्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको बताउँदै मूल्य नियन्त्रणका लागि सरकारी संयन्त्रमार्फत आवश्यक कदम चालिएको जानकारी दिएकी छन्।